‘बाघ लजालु हुन्छ र एकान्तमा बस्न रुचाउँछ, मान्छेसँग जम्काभेट भएमात्र दुर्घटना हुने हो’


प्रकाशित मिति : श्रावण १३, २०८० शनिबार

आज विश्व बाघ दिवस । नेपालमा पनि ‘मानव–बाघ सहअस्तित्व’को नाराको साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । नेपालले सन् २०१० मा तत्कालीन बाघको संख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ । बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । तर, पछिल्लो समय बाघ र मानवबीचको द्वन्द्व भने चिन्ताको विषय बनेको छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न योगदान दिने वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई निराकरण गर्नु मुख्य चुनौती देखिएको छ । यससन्दर्भमा, नेपालमा बाघको अवस्था, मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनिकरण कसरी गर्ने भन्ने विषयमा डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक शिवराज भट्टसँग खसोखासका लागि सुरज घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा बाघको अवस्था पाउनुभएको छ ? नेपालमा कस्ता कस्ता प्रजातीका बाघहरु पाइन्छन् ?
बाघको संरक्षणमा नेपालले सन् २०१० मा जुन प्रतिबद्धता गरेको थियो, बाघको संख्या २०२२ मा दोब्बर गर्छु भन्ने । दोब्बर भन्दा पनि झण्डै तेब्बर, १२१ को चादोँमा तीन सय ५५ बाघ गत वर्ष नै भयो । अब त अर्को गणना तीन वर्षपछि मात्रै हुन्छ । त्यसैले तीन सय ५५ वटा बाघ छन् । यो सबै निकुञ्जहरु र सबै ठाउँमा वृद्धि भइरहेको छ । यो सबल कुरा हो । नेपालमा एउटा मात्रै प्रजाती हो । विश्वमा बाघको नौ वटा प्रजाति पाइन्थें । नौ वटामा तीन वटा प्रजाती लोप भएर ६ वटा प्रजाती मात्रै बाँकी छन् । तर, नेपाल, भारत, बंगलादेश, भुटानमा पाउने यो एउटै प्रजातीको रोयल बंगाली टाइगर नै हो ।

डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक शिवराज भट्ट

पछिल्लो समयको प्रमुख चुनौती बनिरहेको मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कसरी हेरिरहनुभएको छ ? न्यूनिकरण गर्ने उपायहरु के–के हुन सक्छन् ?
अहिलेको प्रमुख समस्या र ख्याल गर्नुपर्ने कुरा नै यहीँ हो । बाघको वृद्धि भएको कुरालाई कसरी व्यवस्थापन गर्ने र जुन मानिसहरुको दुर्घटनाहरु भइरहेका छन्, त्यसलाई सम्बोधन गर्ने कुरा चुनौतीको विषय हो । नेपालले बाघलाई दोब्बर बनाउने लक्ष्य राखेको थियो अब चाँही बाघ–मानव सहअस्तित्व गर्ने कुरा छ । बाघ–मानव सहअस्तित्वको विषय चर्चामा आइरहँदा पहिलो कुरा यो किन भइरहेको छ भन्ने कुराको अध्ययन गर्नुपर्छ । मान्छेहरु जंगलमा गएर दुर्घटना भइरहेको हो । बाघ गाउँ–घरमा आएर दुर्घटना भएको छैन । कैयौं मान्छेको दैनिक रोजीरोटी नै जंगलबाट हुन्छ । घाँस ल्याउनुपर्यो, दाउँरा ल्याउनु नै पर्यो, गाइँवस्तु चराउनु पर्यो, खानेकुराहरु जस्तैः च्याऊ, निहुँरोहरु पनि टिप्न जानै पर्यो । यी विषयहरु भएको हुनाले यसको विकल्प खोज्नुपर्छ ।

अर्को कुरा, मान्छेको बानीले पनि बाघ र मानवबीचको द्वन्द्व बढिरहेको छ । बाघको बानी परिवर्तन गर्न सक्दैनौं तर मान्छेको बानी त परिवर्तन गर्न सक्छौं नि हामी । त्यसैले मान्छे सचेत हुनुपर्यो । म जंगलमा जथाभावी गए भने दुर्घटना हुन सक्छ, भन्ने हिसाबले जंगल जाँदा बिचार गर्नुपर्छ । सकेसम्म, जंगल भन्दा बाहिर विकल्पहरु उत्पादन गर्न सक्नुपर्छ । जानै पर्ने अवस्थामा अलिकति सुरक्षित भएर समूहमा अथवा त्यहाँको सुरक्षा निकाय, वनका कर्मचारीहरुलाई खबर गरेर गयौं भने सुरक्षित रहन सकिन्छ ।

दुर्घटना दुइवटा कारणले हुने होे, एउटा त जनावर जंगलबाट बाहिर आएर र अर्को मान्छे जंगलभित्र गएर । कुनै कुनै ठाउँमा बाघको संख्या वृद्धि भयो, त्यसले गर्दा बाघ नयाँ बासस्थान खोज्न बाहिर निस्कियो । एक ठाउँबाट अर्को ठाउँमा जान खोज्दा, मान्छेसँग जम्काभेट भएपछि दुर्घटना हुन सक्छ । अर्को चाँही, पर्याप्त रुपमा पानीको स्रोतहरु साथै घासेँमैदान घट्यो भने त्यो खोज्न आउँदा पनि मान्छेसँगको भेटघाट हुँदा दुर्घटना हुन्छ । धेरैजसोः घट्ना मान्छे नै जंगलभित्र जाने हुनाले यसलाई निकारण गर्न व्यवहार परिवर्तनलाई व्यापक रुपमा ठूलो अभियानको रुपमा लगातार मान्छेलाई सचेत गराउने र घाँस–दाउँराको विकल्पको खोज्ने काम गर्नुपर्छ ।

ललितपुरको जावलाखेलस्थित चिडियाखानामा रहेको रोयल बंगाली टाइगर

बाघले मानिसलाई कस्तो अवस्थामा आक्रमण गर्छ ? यहाँले के बुझ्नुभएको छ ?
बाघ बुढो भयो भने मृग, बदेंलहरुलाई आक्रमण गर्न सक्दैन् । कहिलेकाँही अपाङ्ग भएको बेलामा, हात भाचिँने, दाह्रा-नङ्ग्रा खिइएको अवस्थामा अन्य शिकार गर्न नसकेको बेलामा बाघले मानिसलाई आक्रमण गर्छ । बच्चा पाएको बेलामा बगेनीले बच्चा पनि सम्हाल्नै पर्यो, भाले बाघबाट जोगाउनु नै पर्यो, बच्चा आफूलाई शिकार पनि खोज्नुपर्यो । यस्तै, स्वस्थ्य तथा बलियो बाघबाट कमजोर बाघ लखेटिएको अवस्थामा नयाँ ठाउँमा आहार प्रजाति भेटिएन् भने सजिलो आहारहरु गाईवस्तु, मानिसमा पल्किन सक्छ ।

बाघ लजालु हुन्छ पनि भनिन्छ, सत्य हो ?
बाघ लजालु नै हुन्छ । त्यही भएर जहाँ पनि छ्यापछ्याप्ती देखिदैँन् । बाघ लुकेर बस्छ । बाघ र मान्छेको हिड्डुल बढ्यो भने कहिलेकाँही भेट हुँदा दुर्घटना हुने हो । बाघ एकदमै लजालु स्वभावको नै हुन्छ, एकान्तमा बस्न रुचाउँछ । मान्छे बाघको आहारा पनि होइन, उसको आहार त प्रशस्त छ जंगलमा ।

डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक शिवराज भट्ट

बाघ संरक्षणमा कस्ता कस्ता चुनौतीहरु छन् ?
बाघ संरक्षणको मुख्य चुनौती, चोरी शिकारी नै हो । साथै, वासस्थानको विनाश जस्तै, घाँसे मैदान घट्दै जानु, पानीपोखरीहरु पनि घट्दैँ जानु, बाघको आहार प्रजातिहरुको अभाव हुनु यसको प्रमुख समस्याहरु हुन् । मानव र वन्यजन्तुबीचको द्वन्द्वले पनि सरक्षणमा प्रभाव पार्छ । जनसहभागीता जुटाउनु पनि यसका अर्को पक्ष हो ।

अन्त्यमा, सरोकारवाला निकाय र आम नागरिकलाई यहाँको सन्देश के छ ?
समग्र बाघ संरक्षणमा सहभागी सबैलाई एकदमै बधाई दिन चाहान्छु । जसरी हामीले सन् २०१० देखि बाघलाई बढाउँदै आयौ । अबलाई हामीले बाघलाई कसरी समृद्धिसँग जोड्न सक्छौं ? कसरी यसबाट आयआर्जन गर्न सक्छौं ? कसरी रोजगारी बढाउन सक्छौं ? भन्नेमा ध्यान दिनुपर्छ । साथै, मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई निराकरण गरेर कसरी सहअस्तित्वमा जान सक्छौं भन्ने कुरामा सबै एकजुट हुनु आवश्यक छ ।।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com