युद्ध अपराधका घटनाबाट संयुक्त राष्ट्रसङ्घीय अधिकारी चिन्तित
प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार
संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताले म्यान्मामा सामूहिक मृत्युदण्ड र यौन हिंसासहित बढ्दो युद्धअपराधबाट आफूहरु चिन्तित भएको बताएका छन् ।
उनीहरुले ती जघन्य अपराधका प्रमाण सङ्कलन गरेको जनाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन मद्दत गर्ने मुद्दाका ‘फाइल’ तयार गरिरहेको बताएका छन् ।
सन् २०२१को फेब्रुवरीमा प्रजातन्त्रवादी नेत्री आङ्सान सुचीको निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा देशभर व्यापक प्रदर्शन भएका छन् ।
आन्दोलनलाई दबाउन सैनिक सरकारले अधिक बल प्रयोग गर्दा तीन हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् ।
म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धान संयन्त्र ९आइआइएमएम०ले म्यान्माको सेनाले बारम्बार युद्ध अपराध गरेको प्रमाण फेला पारिएको बताएका छ ।
गाउँ जलाउने सर्वसाधारणमाथि अन्धाधुन्ध बम खसाल्ने, थुनामा रहेकालाई मार्ने, भयानक यातना दिने र यौन शोषण गरेका प्रमाण आफ्नो प्रतिवेदनमा समावेश गरिने आइआइएमएमले बताएको छ ।
हेलिकप्टरबाट गाउँमा बम खसाल्ने, आगजनी गर्ने, निर्दोष समुदायलाई मार्ने, अमानवीय एवम् क्रुरतापूर्ण कार्यले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै आइआइएमएमले योजनाबद्धरुपमा गरिएको अपराधका दोषीलाई कारवाही गर्न अदालतलाई यथेष्ट प्रमाण जुटाइएको जनाएको छ ।
गम्भीर प्रकृतिका अपराधको प्रमण सङ्कलन गर्न राष्ट्रसङ्घीय मानवअधिकार परिषद्ले् सन् २०१८ मा गठन गरेको उक्त संयन्त्रका सदस्यलाई म्यान्मा भ्रमणमा रोक लगाइएको छ । संयन्त्रले सात सय स्रोत, साक्षीको बयान, दस्तावेज, तस्विर, वृत्तचित्रलगायत दुई करोड ३० लाखभन्दा बढी जानकारीमूलक वस्तु सङ्कलन गरेको जनाइएको छ ।