पाकिस्तानको संसद् विघटन, राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहबाजको सिफारिसलाई अनुमोदन


प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार राष्ट्रिय सभा भंग गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ५८-१ बमोजिम यस्तो गरेका हुन् ।

राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहनेछन्।

संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुनेछ । राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न बिहीबार प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्नेछन् ।

उनीहरुले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् । उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको थियो । अब पाकिस्तानमा कार्यवाहक सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com