साउदीमा अलपत्र परेका श्रीमानलाई नेपाल झिकाइदिन हारगुहार गरिरहेकी चन्द्रिका


प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार

सप्तरीकी चन्द्रिका साहु, करिब १५ दिनदेखि वैदेशिक रोजगार विभागको कार्यालयमा धाइरहेकी छिन् । उनी वैदेशिक रोजगार विभाग धाउनुको एउटै कारण हो, उनको श्रीमान विदेशमा अलपत्र पर्नु ।

चन्द्रिकाका श्रीमान देवनारायण साहु झण्डै तीन महिना अघि रोजगारीको शिलशिलामा साउदी अरेयिबा गएका थिए । विदेशमा अलपत्र परेको श्रीमानलाई झिकाईदिन हारगुहार गर्दै विभागको कार्यालयमा धाइरहेकी छिन् । उनी भन्छिन्, ‘श्रीमान साउदी जानुभएको छ । दुई महिना बित्न आट्यो । हामी धेरै पटक वैदेशिक रोजगार विभागमा धाइरहेका छौं । केही सुनुवाई भएको छैन ।’

चन्द्रिकाका श्रीमान देवनारायण विगत ७ दिनदेखि साउदीमा विरामी परेका छन् । विरामी परेको समयमा पनि बन्धक बनेर बस्नुपरेको उनी बताउँछन् । श्रीमानलाई कम्पनीले औषधीको व्यवस्था त परैको कुरा राम्रोसँग खाना खान पनि नदिएको उनले बताईन् । ‘आज ७ दिन भइसक्यो । ज्वरो आएर सिकिस्त हुनुभएको छ । कम्पनीले औषधी पनि दिएको छैन् ।’ – उनले भनिन् ।

विदेशमा श्रीमान मृत्युको मुखमा पर्दै जाँदा विभागले ४५ दिन झिकाउन नसकिने बताएको उनले बताईन् । ‘श्रीमान उता मृत्युको मुखमा पर्दै जानुभएको छ । खाना खान पनि दिएको छैन । बस्ने ठाउँमा बिजुली पनि काँटिदिएको छ ।’ चन्द्रिकाले भनिन्- ‘यता ४५ दिनसम्म मान्छे आउँदै आउँदैन भन्नुभएको छ ।’

देवनारायण बसुन्धारामा रहेको अल फारुक ओभरसिज मेनपावरको माध्यमबाट साउदी पुगेका थिए । तर, म्यानपावरले जुन कामका लागि भनेर साउदी पठाएको थियो न त्यो काम नै पाए न खानबस्नका लागि व्यवस्था नै भयो । देवनारायण यसअघि पनि वैदेशिक रोजगारीको लागि कतार पुगेका थिए । कतारको सप्लाई कम्पनीमा काम गरेको देवनारायण त्यहाँ पनि फसिन पुगे ।

म्यानपावर कम्पनीले लोभ लालच देखाएर जबरजस्ती श्रीमानलाई साउदी पठाएको उनले आरोप लगाईन् । चन्द्रिकाले भनिन्- ‘पहिले अर्कै कम्पनीमा काम गर्नुभएको थियो । त्यो मा भएन् । यसमा नसोधेर म्यानपावरले पठाइदियो । १५ महिना पहिले नै भिषा आएको थियो । त्यसमा पठाइदिएको छ । मेरो बुढो जाने बेलामा पनि भन्नुभएको थियो, म सप्लाई कम्पनीमा कतारबाट फसेर आएको छु । अरु कम्पनीमा भए अहिले नै जान चाहान्छु । तर, श्रीमानलाई जबरजस्ती पठाइदियो ।’

देवनारायणले साउदी जानको लागि म्यानपावरलाई सुरुमा १ लाख ६० हजार बुझाएका थिए । म्यानपावरले कम्पनी राम्रो भएको र धेरै पैसा कमाई हुने लोभमा देखाएपछि उनले पुनः ४० हजार बुझाए ।

देवनारायणलाई कम्पनीले खाना नदिएपछि सँगै काम गर्नेहरुले भुजा तथा चिउराहरु लैदिने गरेको उनकी श्रीमति चन्द्रिका बताउँछिन् । श्रीमानले भुजा तथा चिउरा खाएरै दिन कटाइरहेको दुखेसो गरिन् । चन्द्रिकाले भनिन्-  ‘मेरो श्रीमान मुत्युको मुखमा पुग्न थाल्नुभएको छ । खाना पनि दिएको छैन्, कोठा पनि छैन् । लाईन पनि छैन् । अरु अरु मान्छेहरु भुजा, चिउराहरु लगिदिन्छन् । त्यही खाएर बस्नुभएको छ ।’

सप्तरीमा आफ्ना ७ र ९ वर्षका छोराहरुलाई छाडेर श्रीमानलाई झिकाउन मद्धत माग्दैँ चन्द्रिका १५ दिनदेखि काठमाडौंमा हार गुहार गरिरहेकी छिन् ।  काठमाडौंमा बस्दा ४० हजार खर्च भइसकेको उनको भनाई छ । ‘काठमाडौंमै बसेको ४० हजार खर्च भइसक्यो । १५ दिन देखि धाइरहेकी छु । दुई वटा छोरा छन् । छोरालाई कसैले पनि खाना पकाएर खाना दिँदैनन् । छोराहरु साना साना छन् । एउटा ९ वर्षको र अर्को ७ वर्षको छोरो छ घरमा । घर पनि छैन् । बारेको घरमा बस्छौं ।’- उनले भनिन ।

उनी श्रीमानलाई नेपाल झिकाउन भन्दै कहिले मेनपावर कम्पनी त कहिले विभाग धाइरहेकी छन् । तर, कतैबाट पनि आफुले न्याय नपाएको उनको गुनासो छ ।

खाडी मुलुकमा नेपाली कामदारहरू अलपत्र पर्ने तथा ठगिमा पर्ने घटना वैदेशिक रोजगार विभागको लागि नौलो होइन् ।  विभागका अनुसार पछिल्लो समय विदेशमा अलपत्र पर्ने तथा ठगीमा पर्ने घटनाहरु बढेका छन् । विभागले विदेशमा अलपत्र परेकाहरुको उद्धारको लागि सम्बन्धित मेनपावरसँग समन्वय गरि नेपाल झिकाउन पहल गरिरहेको विभागको दाबी छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com