गाजा विषयमा जी-७ को साझा धारणाको खोजी, युक्रेनलाई ‘बलियो समर्थन’को वाचा
प्रकाशित मिति : कार्तिक २२, २०८० बुधबार
जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ ।
मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’ को आह्वान गर्ने तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो ।
आफ्नो पछिल्लो व्यस्त मध्यपूर्वको भ्रमणबाट बैठकमा पुग्नुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले मङ्गलबार जी–७ सँग गाजा सङ्घर्षका बारेमा ‘एउटै स्पष्ट आवाज’ मा बोल्न आग्रह गर्नुभयो । जापानी विदेशमन्त्री योको कामिवाकाले मङ्गलबार राति पर्याप्त र निरन्तर मानवीय सहायताको पूर्वशर्तका रूपमा जी–७ का विदेशमन्त्रीहरूलाई सम्बन्धित मुलुकहरूबाट मानवीय विराम गर्न र मानवीय पहुँच सुनिश्चित गर्नका लागि आह्वान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
एक कूटनीतिक स्रोतले गाजामा मानवीय आपत्काललाई ध्यानमा राख्दै प्यालेस्टिनी नागरिकका लागि मानवीय हेरचाह तुरुन्तै विस्तार गर्न आवश्यक छ भन्ने विषयमा मन्त्रीहरूबीच व्यापक एकता थियो भनेको छ । स्रोतका अनुसार छलफलमा मानवीय विरामका बारेमा ‘रचनात्मक आदानप्रदान’ भएको थियो भने गाजाको भविष्य र सङ्घर्षलाई बढ्नबाट कसरी रोक्ने भन्नेबारे जी–७ र यस क्षेत्रका अन्य मुलुकहरूबीच छलफलको आवश्यकता महसुस गरिएको थियो ।
युक्रेन युद्धमा जी–७ किएभलाई ‘बलियो समर्थन’ जारी राख्ने र रुसमाथि ‘गम्भीर प्रतिबन्ध’ लगाउने आफ्नो सङ्कल्पमा ‘एकताबद्ध’ रहेको जापानले बैठकपछि बुधबार बताएको छ । “मध्यपूर्वमा तनाव बढिरहेको भए पनि युक्रेनलाई समर्थन गर्ने हाम्रो दृढ प्रतिबद्धता कहिल्यै डगमगाउने छैन भन्ने स्पष्ट सन्देश अन्तर्राष्ट्रिय समुदायलाई पठाउनका लागि जी–७ एकताबद्ध हुनु महत्त्वपूर्ण छ”, जापानी विदेशमन्त्री कामिकावाले भन्नुभयो ।
युक्रेन युद्ध आफ्नो २०औँ महिनामा पुगेको छ र युक्रेनलाई जवाफी हमलाबाट अग्रता दिलाउन सङ्घर्ष गर्नुपरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सङ्घर्षबाट थकान हटाउने कोसिसमा नियमितरूपमा पश्चिमी नेताहरूसँग भेटघाट गर्नुभएको छ ।