बेलायतमा भएको आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु
प्रकाशित मिति : माघ १८, २०८० बिहीबार
स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ आगलागीमा परेर मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।
शिक्षा र आँचल प्रा डा. यज्ञराज सुवेदीका छोरी हुन्। उनीहरुमध्ये शिक्षा २४ वर्ष र आँचल २०-२५ कै हाराहारीमा रहेको उल्लेख गरिएको छ। मृतकका बाबुआमा उक्त घटनाका बेला घरबाहिर रहेकाले सुरक्षित रहेको जनाइएको छ ।
छिमेकीको फ्ल्याटमा शुरु भएको आगो सल्किएर सुवेदी परिवारको फ्ल्याटसम्म आइपुग्दा घटना भएको उनले जनाए। घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
सोमबार बेलुका करिब ६ बजे आपतकालीन सेवाहरूलाई ब्याक हिल्टन रोडमा बोलाइएको थियो। स्कटल्याण्डले मंगलबार बिहान आँचल सुवेदी र शिक्षा सुवेदीलाई घटनास्थलमा मृत घोषित गरेको पुष्टि गरेको हो ।
एक बच्चालाई सावधानीको रूपमा अस्पताल लगिएको थियो । बच्चालाई ब्लकको माथि रहेको फ्ल्याटको झ्यालबाट निकालेर सिँढी हुँदै तल निकालिएको थियो । उक्त बच्चालाई पछि डिस्चार्ज गरिएको जनाइएको छ । आगलागीपछि छिमेका बसोबास गर्ने मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निकालिएको थियो भने आपतकालीन सेवाहरूको यस क्षेत्रमा भीड लागेको थियो ।
स्कटिश फायर एण्ड रेस्क्यू सर्भिसले पाँच जना घाइतेलाई स्कटिश एम्बुलेन्स सेवाले उद्धार र उपचार गरेको बताएको छ। भवनबाट मानिसहरूलाई उद्धार गरी झ्यालबाट निकालेर सीढीहरू तल ल्याइएको थियो ।
स्कटिश फायर एण्ड रेस्क्यू सर्भिसले आगो निभाउन सात उपकरण र दुई विशेषज्ञ एकाइहरू पठाएको थियो । घटनाको पूर्ण निक्र्यौलका लागि प्रहरीले स्कटिश फायर र उद्धार सेवासँगको संयुक्त अनुसन्धान जारी राखेपनि कुनै स्पष्ट संदिग्ध परिस्थितिहरू नभएको जनाइएको छ । आगलागीपछि ब्याक हिल्टन रोड आपतकालीन सेवाहरूले केहीबेर अवरुद्ध गरेका थिए ।
खसोखासबाट थप रिपोर्टिङ