बुटवलले बाआमालाई निशुल्क उपचार गरिदिने
प्रकाशित मिति : माघ २३, २०८० मंगलबार
रुपन्देहीको बुटवलमा बाआमा संग नगरप्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी बितरण गर्ने कार्यक्रमको उदेश्य रहेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो ।
बुटवल १२ तामनगर प्रगतिटोलकी ११० बर्षिया ऐरावती बरईको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले स्वास्थ्य परीक्षण र प्रमुख पाण्डेले स्वास्थ्यबर्धक सामग्री हस्तास्तरण गरेर बाआमा संग नगरप्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रमको सुरुवात गरिएको हो ।
घरबाहिर निस्किन नसक्ने बृद्धबृद्धाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई उपचारमा सहज होस भनेर बिशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालिएको जनस्वास्थ्य शाखा प्रमुख यूवराज पाण्डेले जानकारी दिनुभयो । यो अभियान बुटवलका १९ वटै वडामा सञ्चालन हुनेछ । जेष्ठ नागरीक र फरक क्षमता भएका व्यक्तिहरुका लागि बिशेषज्ञ चिकित्सकद्धारा स्वास्थ्य परीक्षण , प्रयोगशाला र औषधी बितरण सबै निशुल्क हुने नगर प्रमुख पाण्डेले बताउनु भयो ।