विनाभिसा अमेरिका छिर्दा हिराशतमा ज्यान गएका सुवासको मृत्युबारे आइसको विस्तृत रिपोर्ट


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

विनाभिसा अमेरिका छिर्ने क्रममा पक्राउ परी हिराशतमा मृत्यु भएका नेपाली सुवास श्रेष्ठबारे आइसले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा उनी हिराशतमा परिसकेपछिको स्वास्थ्य मूल्यांकन र चेकजाँचको विवरण समेटिएको छ । दलाललाई मोटो रकम बुझाएर विना भिसा अमेरिका आएका ३४ बर्षका श्रेष्ठको नोभेम्बर १३ मा टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिराशतमा मृत्यु भएको थियो ।

मृत्यु भएको केही महिनापछि सार्वजनिक गरिएको विस्तृत रिपोर्टमा मृत्यु हुनुभन्दा २ दिन अगाडि नोभेम्बर १० मा टेलि मेड मार्फत एक मनोचिकित्सकले श्रेष्ठको प्रारम्भिक मनोचिकित्सक मूल्याङ्कन गर्दा श्रेष्ठलाई एङजाइटीका साथमा एड्जस्मेन्ट डिस्अर्डर भएको पत्ता लगाएका थिए । उनलाई थेरापी जारी राख्न र आवश्यकता अनुसार मेडिकलसँग अनुगमन गर्न सिफारिस गरिएको थियो । रिपोर्ट अनुशार उनको हिराशतमा २५ पटक शारीरिक र मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो । उनी परिवारलाई मिस गरेको भन्दै हिराशतमा बारम्बार रुने गरेका थिए ।

सेप्टेम्बर २ मा एरिजोनाको लुकभिल नजिकैबाट विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका श्रेष्ठलाई यूएस बोर्डर पेट्रोलले अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २१२ अन्तर्गत शीघ्र देशनिकालाका लागि सूचना र आदेश दिएपछि सेप्टेम्बर ९ मा उनलाई कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखिएको थियो ।

त्यसैदिन स्वास्थ्य परीक्षण गर्दा उनी निकै आत्तिएको देखिएको छ । सेप्टेम्बर ९ मा श्रेष्ठको रजिष्टर्ड नर्सद्वारा स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप देखिएको थियो । अन्य कुनै असामान्यता वा चिकित्सा समस्याहरू नेदेखिएपछि उनलाई सामान्य आप्रवासीहरुलाई नै राख्ने स्थानमा हिराशतमा राख्न सिफारिस गरिएको थियो । सेप्टेम्बर १७ मा रजिष्टर्ड नर्सले श्रेष्ठको प्रारम्भिक शारीरिक परीक्षण पूरा गरेका थिए, त्यतिबेला पनि उनमा हल्का उच्च रक्तचाप बाहेक अन्य समस्या नदेखिएपछि बन्दीहरु राख्ने सामान्य वार्डमा नै फर्काइएको थियो ।

दुईतीन दिनदेखि श्रेष्ठले पेट दुखेको गुनासो गरेपछि सेप्टेम्बर २८ मा लाइसेन्स प्राप्त प्राक्टिकल नर्सले श्रेष्ठको पेट र इपिगस्ट्रिक दुखाइको मूल्याङ्कन गरेका थिए । थोरै उच्च रक्तचाप बाहेक अन्य समस्या नदेखिएपछि आवश्यक रूपमा एन्टासिड दिइएको थियो । पेटको एसिड कम गर्ने औषधी दिनुका साथै श्रेष्ठलाई केही आहारमा प्रतिबन्धहरू लगाइएको थियो । पछि श्रेष्ठले माथिल्लो पेट दुखेको बताएपछि सेप्टेम्बर ३०, २०२३ मा लाइसेन्स प्राप्त प्राक्टिकल नर्सले माथिल्लो पेट र छाती दुख्ने गुनासोहरूको लागि चेकजाँच गरेका थिए । ईसीजी गर्दा उनको हृदयको गतिविधि सामान्य देखिएको थियो । श्रेष्ठ अत्यन्तै चिन्तित, दुखी दृखिएका थिए भने उनी पसिनै पसिना भएको रिपोर्टमा उल्लेख छ । उच्च रक्तचापको समस्या भने यथावत थियो । उनलाई एन्टासिडको एक डोज प्रदान गरेपछि राम्रो महसुस भएको बताएका थिए । पछि श्रेष्ठलाई मानसिक स्वास्थ्य जाँचका लागि रिफर गरिएको थियो ।

अक्टोबर ३मा एक मानसिक स्वास्थ्य कार्यकर्ताले श्रेष्ठको मानसिक स्वास्थ्य जाँच गरेका थिए । मानसिक स्वास्थ्य प्रदायकले श्रेष्ठलाई लक्षणहरूको बारेमा रिपोर्ट गर्न, मानसिक स्वास्थ्य सेवाहरूको पहुँच र आवश्यकता अनुसार फलोअप गर्न निर्देशन दिएका थिए । अक्टोबर ६ मा लाइसेन्स प्राप्त प्राक्टिकल नर्सलले श्रेष्ठलाई निद्रामा समस्या भएको गुनासोको कारण एक मनोचिकित्सक आपतकालको लागि मूल्याङ्कन गरेका थिए र नियमित मानसिक स्वास्थ्य जाँचका लागि रिफर गरेका थिए । सोही दिन नै मानसिक स्वास्थ्य कार्यकर्ताले पनि जाँच गरेका थिए ।

अक्टोबर ९ मा एक लाइसेन्स प्राप्त क्लिनिकल सामाजिक कार्यकर्ताले कम निद्रा, तनाव र चिन्ताको गुनासोहरूको लागि श्रेष्ठको मूल्याङ्कन गरेका थिए । श्रेष्ठले आफ्नो निद्रामा सुधार गर्न व्यायाम सहयोगी भएको रिपोर्ट गरेका थिए । उनले थप कुनै सहयोगको आवश्यकता नपर्ने बताएको रिपोर्टमा उल्लेख छ । तर अक्टोबर १३ मा पेट र छाती दुखेको गुनासोको लागि मेडिकलमा लगिएको थियो । श्रेष्ठले चिन्तित र तनाव भएको महसुस गरेका थिए । अक्टोबर १४ मा एक चिकित्सकले श्रेष्ठको स्वास्थ्य मूल्याङ्कन गरेका थिए । चिकित्सकले अलिकति उच्च रक्तचाप बाहेक अरु समस्या नभएको मूल्यांकन गरे ।

अक्टोबर १९ नर्सले टाउको दुखेको गुनासोको लागि श्रेष्ठको मूल्याङ्कन गरे। थोरै उच्च रक्तचाप बाहेक अरु समस्या नेदेखिएपछि उनलाई पानीको मात्रा बढाउन सल्लाह दिइएको थियो । अक्टोबर २१ मा श्रेष्ठलाई मूल्याङ्कन गर्दा श्रेष्ठले हल्का तनाव भएको महसुस गरेका थिए । तर राम्रोसँग खाना खाने र आफ्नो तनाव स्तर घटाउन मद्दत गर्न व्यायाम गर्ने पनि गरिरहेका थिए । २२ अक्टोबरमा श्रेष्ठले तनाव महसुस गरेको गुनासो गरेपछि स्वास्थ्य जाँच गरिएको थियो । उनको टाउको दुखाइको लागि बु्रफिन दिइएको थियो ।

अक्टोबर २४ मा श्रेष्ठको प्रारम्भिक मानसिक स्वास्थ्य मूल्याङ्कन पूरा गरिएको थियो । श्रेष्ठले निद्रा राम्रो हुँदै गएको, व्यायाम गर्ने, राम्रो भोक लाग्ने बताएका थिए । चार पाँच महिनाअघि नेपालमा टाउकोमा चोटपटक लागेको बताए । जसले गर्दा उनको निधारमा दाग थियो। तनावग्रस्त मुड बाहेक मनोचिकित्सकलाई सिफारिस गर्नु आवश्यक नभएको निष्कर्ष निकालियो । किनभने श्रेष्ठ आत्महत्याको जोखिममा थिएनन्। श्रेष्ठलाई तनाव व्यवस्थापन समूहमा उपस्थित हुन सुझाव दिइयो ।

अक्टोबर २७ नर्सले श्रेष्ठलाई छाती दुख्ने, तीन दिनदेखि टाउको दुख्ने गुनासोका कारण जाँच गरेर मानसिक स्वास्थ्यको लागि रिफर गरे । सोही दिन मानसिक स्वास्थ्य परीक्षण गर्दा श्रेष्ठ राम्ररी लुगा लगाएका, सजिएका, सचेत र शान्त रहेको निष्कर्ष निकालिएको थियो । अक्टोबर ३० मा हिरासत अधिकारीले उनलाई मानसिक स्वास्थ्य क्लिनिकमा लगेपछि उनको परीक्षण गरिएको थियो । उनले दुःखी महसुस गरेको, आफ्नो परिवारलाई मिस गरेको र टाउको दुखेको बताएका थिए । श्रेष्ठ त्यतीबेला रोएका थिए भने चिन्तित देखिएका थिए । अक्टोबर ३१ मा पनि उनको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो ।

नोभेम्बर १ मा श्रेष्ठको मानसिक स्वास्थ्य मूल्याङ्कन पूरा गरियो । उनले राम्रोसँग खाना खाने र सुत्ने गरेको तर बेलाबेला कमजोर अनुभव गर्दै रुने गरेको रिपोर्ट गरिएको थियो । उनलाई तनाव व्यवस्थापन समूहमा उपस्थित हुन सिफारिस गरियो भने स्वासप्रश्वासका अभ्यास र अन्य अभ्यास जारी राख्न प्रोत्साहन गरियो । संकटमा अनुभव भएको खण्डमा तुरुन्त खबर गर्ने प्रकृयाहरु पनि उनलाई जानकारी गराइयो । भोलिपल्ट नोभेम्बर २ मा उनले स्वास्थ्यमा समस्या भएको भन्दै खबर गरेपछि रजिस्टर्ड नर्सले परीक्षण गरेका थिए । त्यसैदिन उनको मानसिक स्वास्थ्यको पनि मूल्यांकन गरिएको थियो ।

नोभेम्बर ३ मा श्रेष्ठको मनोवैज्ञानिक आपतकालिन मूल्याङ्कन पूरा गरिएको थियो । श्रेष्ठले छाती दुख्ने, टाउको दुख्ने, ग्यास्ट्राइटिस, प्यानिक अट्याक, रुनु र चिन्ताको अनुभव गरेको जानकारी दिएका थिए, त्यसका लागि उनले औषधीको अनुरोध गरेका थिए । उनको चिन्ताजनक मुड र आँसुको प्रभाव रिपोर्ट गरिएको थियो । श्रेष्ठलाई टाउको दुख्ने निको हुने औषधि खुवाइएको थियो । नोभेम्बर ६ मा श्रेष्ठलाई चक्कर आइरहेको अनुभवसँग सम्बन्धित चिकित्सा सहायताको लागि जाँच गरिएको थियो । श्रेष्ठले थकित महसुस गरेको र उनी ठोक्किएर आफ्नो कोठामा लडेको बताए । उनको रगतमा चिनीको मात्रा उच्च देखिएको थियो ।

नोभेम्बर ९ मा नर्सले श्रेष्ठलाई दुई दिनसम्म बाँया घुँडा दुखेको गुनासोको लागि मूल्याङ्कन गरे। श्रेष्ठले बीचमा, सुस्त, बायाँ घुँडा दुख्ने, साइकल चलाउँदा दुखाइको अनुभवको इतिहास रहेको बताए । बु्रफेनपछि उनले आराम भएको रिपोर्ट गरे पनि मांसपेशी मालिस गर्ने क्रीम अनुरोध गरेका थिए । त्यसपछि उनलाई मांसपेशी मालिस गर्ने एक्स्ट्रा स्ट्रेन्थ क्रीम दिइएको थियो । नोभेम्बर १० मा टेलि मेड मार्फत एक मनोचिकित्सकले श्रेष्ठको प्रारम्भिक मनोचिकित्सक मूल्याङ्कन गरेका थिए । त्यतीबेला पनि श्रेष्ठलाई एङजाइटीका साथमा एड्जस्मेन्ट डिस्अर्डर निदान गरिएको थियो । उनलाई थेरापी जारी राख्न र आवश्यकता अनुसार मेडिकल टोलीसँग सम्पर्क गर्न सिफारिस गरियो ।

नोभेम्बर १३ को बिहान ११ बजेर ५६ मिनेटमा मेडिकल स्टाफले मेडिकल इमर्जेन्सीको जानकारी प्राप्त गरे । श्रेष्ठ बेशोस भेटिए। कर्मचारीहरूले तुरुन्तै सीपीआर सुरु गरे भने आपातकालीन चिकित्सा सेवालाई सुचित गरे । करिब ११ बजेर ५८ मिनेटमा नर्सले भुईमा लडेका बेहोस श्रेष्ठको सीपीआरमा सहयोग गरेका थिए । स्वचालित बाह्य डिफिब्रिलेटर ल्याएर प्रयोग गरियो । मेडिकल स्टाफले धडकन पत्ता लगाएनन् भने सीपीआर जारी राखे । लगभग १२ बजेर ७ मिनेटमा ईएमएस कर्मचारीहरू घटनास्थलमा आइपुगे र जीवन बचाउने उपायहरू जारी राखे। लगभग १२ बजेर ४८ मिनेटमा ईएमएस कर्मचारीहरूले जीवन बचाउने सबै उपायहरू असफल भएको भन्दै १२ बजेर ४८ मिनेटमा मृत्युको घोषणा गरे ।

सन् १९८९ को अप्रिल ६ मा जन्मिएका श्रेष्ठ बाह्रबिसे नगरपालिका ८ सिन्धुपाल्चोकका स्थायी बासिन्दा थिए । उनी एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेको जनाइएको छ । श्रेष्ठ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।

रिपोर्टको पूर्ण पाठ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com