अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो, मार्चमा जम्मा १९८ जनालाई
प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार
चालु आर्थिक बर्षको पछिल्लो चारमहिनाको तथ्यांक हेर्दा डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो देखिएको छ । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।
मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको छ । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।
६ महिनाको अवधिमा १४५५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् । सन् २०२३ को अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमार्फत आफू छनौट भए नभएको हेर्न सक्नेछन् । २०२४ को अक्टोबरपछि भने उनीहरुले भिसा पाउनेछैनन् ।
मे महिनाका लागि डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक ११ सय थप गरिएको छ । जस अनुशार अब मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्नेछन् । अप्रिलका लागि मार्चको तुलनामा एकहजार थपेर केस नम्बर ६ हजार बनाइएको छ ।
आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । २०२४ मा नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।
कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।