भिसा बुलेटिन: दम्पत्ति र बच्चाबच्चीको ग्रिनकार्डमा लाग्ने अवधि साढे ४ महिना कम, अरु जस्ताको तस्तै
प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार
अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित जुन महिनाको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि खुशीको खबर ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि झण्डै साढे २ बर्षमा झरेको छ । अर्थात् सन् २०२१ को १५ नोभेम्बर भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले आगामी जुन महिनामा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।
अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले दूतावासमा भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गर्नुपर्ने अवधि पनि २ महिना घटेको छ । अर्थात् १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अब जुनमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।
परिवारमा आधारित अरु श्रेणीका ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन लाग्ने अवधि भने टसमस भएको छैन । जुन महिनामा अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुले भिसा पाउन लाग्ने प्राथमिकता मिति टसमस नहुँदा लाग्ने अवधि १ महिना बढेको छ । अर्थात् ८ जुलाई २०१५ भन्दा अगाडि प्राथमिकता मिति भएकाले जुन मा ग्रिनकार्ड पाउन सक्नेछन् ।
ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा १ अप्रिल २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले जुन महिनामा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अर्थात् यो अवधि टसमस भएको छैन । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीका सन्दर्भमा २२ जुलाई २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अप्रिलमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् । अर्थात् यो अवधि पनि जस्ताको तस्तै छ ।
अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि गत अगस्तसम्म ग्रिनकार्ड फाइल गर्ने मिति करेन्ट रहदै आएकोमा सेप्टेम्बरदेखि भने करेन्ट छैन । अथात् सेप्टेम्बरदेखि अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न पाउँदैनन् ।
सेप्टेम्बर १, २०२३ को प्राथमिकता मितिमा अहिलेसम्म टसमस नभएकाले सेप्टेम्बर १ पछि आई १३० पिटिसन दिएकाहरुले उक्त पिटिसन विचाराधिन भएकै अवस्थामा अहिलेसम्म पनि ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिन पाएका छैनन् । जसले गर्दा उनीहरुलाई आफ्नो भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट भएको छ ।
सेप्टेम्बर १ अगाडि आई १३० पिटिसन दिएकाहरुले भने सेप्टेम्बरदेखि नै ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाइरहेका छन् । आई ४८५ पेश गरिसकेपछि भिसा वा अध्यागमन स्टाटस जोगाउने झन्झट नहुनसक्छ ।