मदिरा सेवनले वार्षिक ३० लाखको मृत्यु , अमेरिकामा मदिरा सेवन गर्नेको संख्या यस्तो छ


प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले मदिराबाट बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आएपनि यो ‘अस्वीकार्यरूपमा उच्च रहेको सङ्गठनको भनाइ छ ।

मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।

उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो ।

मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भन्नुभयो ।
सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उहाँले बताउनुभयो । सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।

क्यान्सर र कार दुर्घटना मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ । सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए । यो विश्व जनसङ्ख्याको तीन दशमलव सात प्रतिशत हो ।

विश्वभरमा प्रतिव्यक्ति मदिराको कूल खपत नौ वर्षअघिको पाँच दशमलव सात लिटरबाट थोरै घटेर सन् २०१९ मा पाँच दशमलव पाँच लिटर भएको छ । तर समग्रमा मदिराको खपत विश्वभरमा असमानरूपमा वितरण गरिएको छ ।

विश्वको १५ वर्षभन्दा माथि उमेरका आधाभन्दा धेरै जनसङ्ख्या पूर्णरूपमा मदिराबाट अछूतो छ । युरोपमा अहिलेसम्म प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर नौ दशमलव दुई लिटर छ ।

त्यसपछि अमेरिकामा सात दशमलव पाँच लिटर छ । प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com