१८ देशमा नयाँ राजदूत सिफारिस , पूर्वमुख्य सचिव रेग्मीलाई अमेरिकाको जिम्मा


प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार

सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो ।

उहाँले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा पूर्वमुख्य सचिव डाक्टर लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस हुनु भएको छ ।

दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे, मलेसियामा नेत्र तिमल्सिना र चीनमा कृष्णप्रसाद ओली सिफारिस हुनुभएको छ ।

त्यस्तै पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सिफारिस हुनु भएको छ । इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएको बताइएको छ ।

मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ ।

बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले वाग्मतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुनुहुन्छ । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य रहनु भएको थियो भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुनुहुन्छ ।

यसअघि वाग्मतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियार रहनु भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com