सुपारी बेचेर बार्षिक ३ लाख कमाई , निरन्तर आम्दानीको श्रोत बन्दै


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ ।

कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।

झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ ।

व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ ।
मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ उहाँले भन्नुभयो ।

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउनुहुन्छ ।

मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ उहाँले भन्नुभयो ।

अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउनुहुन्छ ।
उहाँका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ ।

सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउनुहुन्छ ।

बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ उहाँले भन्नुभयो ।

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउनुहुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com