अमेरिकाले आफना नागरिकलाई भन्यो : टिकट पाउन साथ लेबनान छोड


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

अमेरिकाले आफना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेको छ ।

मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई टिकट पाउन साथ जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो ।

यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिदै उक्त क्षेत्रको अवस्था द्रुत रूपमा बिग्रन सक्ने बताउनुभएको थियो ।

तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ ।

हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको थियो ।

हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा आईतबार राती धेरै रकेट प्रहार गरेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई तटस्थ गरेको देख्न सकिन्छ ।

जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com