एक बर्ष मै स्याउ फलेपछि किसान उत्साहित , उत्पादन क्षेत्र बढाउन स्थानीयलाई सघाउदै स्थानीय सरकार


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

बागलुङ निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयले व्यावसायिक स्याउखेती गर्न थालेका छन् ।

समुद्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा ३ वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।

विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् ।

पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् ।

पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।

यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो ।

गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उहाँले बताउनुभयो । अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउनुहुन्छ ।

खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उहाँ बताउनुहुन्छ ।

३ वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाउनुभयो । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब १ सय ५० बोटमा स्याउ फलेका छन् ।

स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताउनुभयो ।

वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उहाँ पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउनुहुन्छ ।

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताउनुभयो ।

गाउँपालिकाले ४ लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com