मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान
प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गर्नुभएको छ ।
मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित भएको उहाँले बताउनु भएको हो ।
इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको गत हप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानूनी अधिकार’ रहेको बताएको छ ।
हानियाको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ ।
बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको थियो ।
अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ ।