लुम्बिनीमा सबैभन्दा बढी मातृमृत्युदर , गर्भपतन गराउने औषधि चकलेट खाएजस्तै गरी नखान सुझाव


प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार

असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ ।

दाङको घोराहीमा आयोजित कार्यक्रमका घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडलले असुरक्षित गर्भपतनका कारण कतिपय महिलाको ज्यानै जाने गरेको बताउनुभयो ।

परिवार नियोजनका साधनका रुपमा गर्भपतनलाई लिन नहुने उहाँको भनाइ थियो । यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि चकटेल खाए झैँ औषधि प्रयोग गर्दा महिलाले ज्यान गुमाउनु परेको बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रशासक शर्मिला शर्माले अनुमति नलिएका क्लिनिक मेडिकल मा गएर अवैध रुपमा गर्भपतन गराउने र अनावश्यक औषधि सेवनले पनि महिलाको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो ।

देशभरको तुलनामा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ । लुम्बिनीमा प्रति लाखमा २ सय ७ सुत्केरीको मृत्यु भएको नेपालको जनगणना २०७८ ले देखाएको छ । देशभर प्रति लाखमा १ सय ५१ सुत्केरीको मृत्यु भएकोमा सबैभन्दा धेरै लुम्बिनीमा देखिएको हो ।

कोशी प्रदेशमा १ सय ५७ जना, मधेश प्रदेशमा १ सय ४० जना, वाग्मती प्रदेशमा ९८ जना, गण्डकी प्रदेशमा १ सय ६१ जना, कर्णाली प्रदेशमा १ सय ७२ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जनाको सुत्केरी अवस्थामा मृत्यु भएको छ ।

महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।

यसका साथै विकलांग, जोखिमको अवस्था, जबरजस्ती करणी, हाडनाताको सन्दर्भमा, एचआईभी एड्सको हकमा तथा भ्रुणमा कमजोरी भएको अवस्थामा पनि गर्भवतीको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन हुने कानुनी व्यवस्था छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com