डोरी बेचेरै परिवारको जीविका चलाउँछन् ८० वर्षीय बन्धु राना


प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खाली बोरीहरु खरिद गरी उहाँले त्यसको धागो निकाली त्यसबाटै डोरी बाट्ने (बनाउने) गरेका छन् ।

डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन । एउटै डोरी दुई सय देखि पाँच सय सम्ममा बिक्री हुने गरेको छ । “घरमै बसेर डोरी तयार गर्छौं,” उहाँले भन्नुभयो, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुर्याएर बिक्री गर्दै आएको छु ।”

दैनिक एक हजार जतिको डोरी बिक्री हुने गरेको उहाँ बताउनु हुन्छ । डोरी बेच्नकै लागि बिहानीको खाना खाएर गाउँ चहार्दै हिँड्ने राना साँझ अबेर मात्रै घर फर्कने गर्दछन् । डोरीमा रानाले छड्की, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन् । सबैभन्दा बढी बिक्री हुने डोरीमा छड्की रहेको छ । गाई गोरु बाँध्नका लागि प्रयोग हुने छड्कीको ग्राहकले बढी माग गर्ने रानाले बताउनुभयो । डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन । “धेरै परिवार हुँदा आर्थिक अभाव सधैँ भइरहन्थ्यो” उहाँले भन्नुभयो, “त्यही भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुदैँनथ्यों, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बाबियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो ।

खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जबदेखि बजारमा प्लास्टिकका डोरी आए त्यसपछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे ।” जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लास्टिकका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उहाँ बताउनुहुन्छ ।

व्यावसायिक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेरपछि गर्न थालेको उहाँको भनाइ रहेको छ । घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उहाँले सहयोग गर्नुहुन्छ । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहावसान भएपछि रानाले दोस्रो विवाह भने गर्नुभएको छैन । जेठो दाजुको घरमा उहाँ बस्दै आउनुभएको छ । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन् ।

“मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए” डुठ्ठा रानाले भन्नुभयो, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे ।” परिवारलाई आवश्यकता परेका बेला उहाँले आर्थिक सहयोग गर्दा नै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ । “घरमा ठूलो काम गर्दा लाग्ने पैसा उहाँले नै दिनुहुन्छ,” उहाँले भन्नुभयो, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइँ गर्नुहुन्छ । उमेर छँदा डोरी बेचेर महिनामै रु ५०/६० हजारसम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाई पनि घटेको छ ।”

घर खर्चसँगै आफूलाई आवश्यक भएको लुगाफाटो, जुत्ता, चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आउनुभएको छ । आफूलाई चाहिने खर्च अरूसँग मागेको अहिलेसम्म नदेखेको डुठ्ठा बताउनु हुन्छ । “हामीले आपतविपत परेका बेला उहाँसँग पैसा माग्छौँ उहाँले अहिलेसम्म हामीसँग पैसा माग्नुभएको छैन” उहाँ भन्नुहुन्छ । पूर्व वडाअध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफूले बन्धुलाई चिनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ,“व्यावसायिक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नुपर्ने हुन्छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com