दुबईको रोजगारी छोडेर आएका सन्तोषले कृषिकर्मबाटै बार्षिक ६ लाख कमाउदै


प्रकाशित मिति : श्रावण २८, २०८१ सोमबार

a pile of different types of vegetables on a white surface

पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।

जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् ।

तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो मासिक १ लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ ।

विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाउनुभयो ।

उहाँले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा ५ वर्ष काम गरेर स्वदेश फर्किनुभएको हो ।

हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बुन्नुभएको थियो ।

जिसीको ८ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब ३ रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट १ याममा करिब ३ लाख बराबर बिक्री गर्नुभएको हो ।

श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाउनुभएको छ भने स्थानीय ४ महिलालाई रोजगारी प्रदान गर्नुभएको छ ।

जिसी कृषि फार्मका रूपमा ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल ८ लाखको लगानी रहेको छ ।

तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उहाँ बताउनुहुन्छ । जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ ।

गत वर्ष सबै खर्च कटाएर वार्षिक ६ लाख नाफा भएको छ जिसीले भन्नुभयो । विसं २०७९ मा साढे ४ लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ ।

जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गर्नुभएको छ । उहाँले वार्षिक आगामी वर्ष ७ लाख बचत हुनेगरी उत्पादनमा लाग्नुभएको छ ।

जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com