युवालाई प्रधानमन्त्री ओलीको आग्रह- २० वर्षको आसपासमा विवाह गरेर सन्तान जन्माइहाल्नुस्


प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गर्नुभयो ।

उहाँले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताउनुभयो । उहाँले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने बताउनुभयो ।

सम्मेलनबाट पारित घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा नेपालले प्रस्तुत गर्ने वक्तव्यमा पनि घोषणापत्रका विषय समावेश गरिने बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com