एमपक्स बिरुद्धको खोपको उत्पादन बढाउन विश्व स्वास्थ्य संगठनको आग्रह


प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ ।

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न साच्चै नै खोपको उत्पादन बढाउन आवश्यक छ डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले पत्रकारहरूलाई भन्नुभयो ।

डब्लुएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ ।

डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन र जापानको एलसी १६ गरी दुई प्रकारका एमपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ ।

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताउनुभएको छ ।

सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । एलसी १६ खोपको भने व्यावसायीकरण गरिएको छैन ।

यो जापान सरकारको तर्फबाट उत्पादन गरिएको हो । यस खोपको पर्याप्त भण्डार छ ह्यारिसले भन्नुभयो ।

डब्ल्यूएचओले एलसी १६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ ।

डब्लुएचओले सन् २०२२ मा पनि ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

यस वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

एमपक्सको सङ्क्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो डब्लिएचओका प्रमुख टेड्रोस गेब्रेयसस भन्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com