एकिकृत समाजवादीमा पदाधिकारी चुनाव : झाँक्री उपाध्यक्षमा पराजित , उपमहासचिवमा चौधरीलाई सबैभन्दा धेरै मत


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनमा रामकुमारी झाँक्री पराजित हुनुभएको छ । महिला उपाध्यक्षमा जयन्ती राईले झाँक्रीलाई पराजित गर्नुभएको हो । राईले १९९ र झाँक्रीले ११२ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्बसम्मत चुनिनु भएको थियो । मधेशी उपाध्यक्षमा धर्मनाथ साहले प्रतिस्पर्धी रामचन्द्र झा लाई हराउनु भयो । खुला उपाध्यक्षमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको थियो ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनुभएको छ । चौधरीले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी रहेका थिए ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित हुनुभएको निर्वाचन समितिले बताएको छ ।

मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दसौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चुनिनु भएको थियो ।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com