मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक , चन्द्रमाको पूजा गर्ने चलन


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको बिहानदेखि नै भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् ।

चौरचनमा प्रयोग हुने माटाको भाँडावर्तन एक साता अगाडि नै किनेका भए पनि फलफूल तथा अन्य पूजाका सामग्री आजसम्म किनमेल गरिने भएकाले बजारमा भीड बढेको हो ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ ।

यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने वरिष्ठ पत्रकार रामभरोस कापडी बताउनुहुन्छ ।

खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

सो क्रममा नयाँ माटोको भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ कापडीले भन्नुभयो ।

प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ । पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com