देशको आवश्यकताअनुसार अनुसन्धान गर्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको आग्रह छ ।

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताउनुभयो ।

सभाले आर्थिक वर्ष २०८१।०८२ का लागि ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com