युक्रेनलाई हराउने जिताउने जिम्मा अमेरिका र साझेदारहरुमा निर्भर छ : जेलेन्स्की
प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनको जित अमेरिकामा निर्भर रहेको बताउनु भएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणक्रममा राष्ट्रपति जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताउनुभएको हो ।
अमेरिकाको समर्थन रहे योजना सफल हुन्छ अन्यथा हुन नसक्ने संभावना बलियो रहन्छ उहाँले भन्नुभयो ।
अमेरिका र अन्य साझेदारको समर्थनमा युक्रेनको जित निर्भर रहेको जेलेन्स्कीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
जेलेन्स्कीको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ ।
निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किनुभए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ । जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताउनुभयो ।
उहाँले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले ताकत दिएको र रुसलाई वार्तामा प्रवेस गर्न दवाव बढाएको बताउनु भयो ।
युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गरेको थियो । तर रुसलाई भने आमन्त्रण गरिएको थिएन ।