न्युयोर्कमा प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण भेटघाट सुरु


प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री ओली आजै दिउँसो स्थानीय समयअनुसार ५ः१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ । यस्तै, स्थानीय समयअनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजना हुने संसदीय मञ्चको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । त्यसअघि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नुहुनेछ ।

आजै साँझ राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गर्नुभएको छ । क्यानाडामा रहनुभएका परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयअनुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क आइपुग्नुभएको थियो । यहाँ बस्नुभएको होटल ग्रान्ड ह्यायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्यूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com