पुटिनको युद्धनीतिलाई चीनले समर्थन गरिरहेको अमेरिकाको आरोप


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धनीतिलाई समर्थन गरिरहेको अमेरिकाले आरोप लगाएको छ ।

चीनले एकातर्फ आफुले शान्ति चाहने बताइरहेको छ, तर अर्कातिर द्वन्द्वको अन्त्य हेर्न नचाहेको अमेरिकाको आरोप छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात गरेको आरोप लगाउँदै युक्रेनमा शान्ति स्थापना गर्ने चीनको मनसायप्रति प्रश्न उठाउनुभएको छ ।

ब्लिन्केनले संयुक्त राष्ट्र महासभाको क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा चीनको कूटनीतिक प्रगतीलाई श्रेय दिँदै ब्लिन्केनले अमेरिकाले रुसलाई युद्धका लागि आवश्यक सामग्री निर्यात गर्ने चीनको व्यवहारप्रति चिन्तनशील रहने र थप प्रतिबन्धहरू लगाउन सक्ने चेतावनी दिनुभएको छ ।

शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनले रुसलाई सैन्य उत्पादनका लागि आवश्यक ७० प्रतिशत मेसिन उपकरण र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स प्रदान गरेको छ । जसमा रकेट र युद्ध सवारी साधनहरू समावेश छन् ।

चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराएको छैन । सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई अरबौं डलरको हतियार पठाएको संयुक्त राज्य अमेरिकाको भनाइ रहेको छ ।

सुरक्षा परिषद्को बैठकमा चीनले युक्रेन सङ्कटको सृष्टिकर्ता आफु नभएको बताउदै शान्तिको पक्षमा उभिएको बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com