बाढीपहिरो र डुबानमा परी १ सय ९२ को मृत्यु , झण्डै ५ हजारको उद्धार


प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार

अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् ।

प्राकृतिक विपदमा १ सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।

यसैबिच तत्कालका लागि ठूलो वर्षा भने नहुने भएको छ । तर हल्का वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

मौसममा सुधार हुँदै गए पनि पर्सि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् निम्ताउने किसिमको ठूलो वर्षाको सम्भावना भने तत्काललाई छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com