महिलाको पौरख : मह बेचेर वार्षिक १४ लाख आम्दानी


प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार

बाँके कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्दै आउनुभएको छ ।

१ सय ३० घार मौरीपालन गर्नुभएकी उहाँले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताउनुभयो । १ सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताउनुभयो ।

उहाँ बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिनुहुन्छ । नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताउनुभयो ।

उहाँले घरमा मह प्रशोधनका उपकरणसमेत राख्नुभएको छ । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।

महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उहाँले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् ।

उहाँले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाउनुभयो । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताउनुभयो । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गाह्रो हुने उहाँको अनुभव छ ।

समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ नन्दकलाले भन्नुभयो । नश्ल सुधारिएको रानीमौरीको मूल्य पाँच–छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।

जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

१ सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः छ सय, ७ सय र ८ सयपर्ने जानकारी दिनुभयो ।

महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाउनुभयो । काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पु¥याउन नै सकिएको छैन उहाँले भन्नुभयो ।

नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com