विश्वको गरिब देश हाइटीमा गोली हानाहान : कम्तीमा ७० जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार

हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको बताएको छ ।

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ ।

हाइटीको पोन्ट सोन्डे सहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौं संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले विज्ञप्ति निकालेर भन्न्ुभएको छ ।

घटनामा स्वचालित राइफलहरू प्रयोग भएका थिए । कम्तिमा ७० जनाको मृत्यु भएको छ , जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू थिए । आक्रमणमा गिरोहका सदस्यहरूले कम्तिमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा ३ हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com