लाहुरेहरुको गाउँ बारपाकमा देखिन छाडे परम्परागत घर


प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार

प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन गोरखा बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो ।

जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो ।

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुङ्गाले उठाइएका हुन्थे ।

बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् ।

ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा प-यो । उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए ।

परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउनुहुन्छ । ‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो ।

पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उहाँ भन्नुहुन्छ । अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ ।

‘भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ ।

भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ । छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन् । थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन् ।

भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ । पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए । भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे । अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन ।

परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको मत छ ।

पुनःनिर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका–१, का वडाध्यक्ष धनबहादुर घले बताउनुहुन्छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन । वडाध्यक्ष घले भन्नुहुन्छ, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन् । अब बारपाक परम्परागत बारपाक रहेन ।

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताउनुभयो । बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ ।

बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com