इजरायली सैन्य शिविरमा हिजबुल्लाहको आक्रमण , ४ सैनिकको मृत्यु ,६० घाइते


प्रकाशित मिति : आश्विन २७, २०८१ आईतबार

उत्तर इजरायलको एक सैन्य शिविरमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट ४ जना सैनिकको मृत्यु भएको छ । ६० भन्दा बढी व्यक्ति घाइते भएका इजरायली रक्षा बल ले जनाएको छ ।

बिन्यामिना नजिकैको सैन्य अड्डामा भएको यस आक्रमणमा ७ जना सैनिक गम्भीर रूपमा घाइते भएका छन् । बिन्यामिना तेल अविव र हाइफा बीचको क्षेत्र हो । यो हाइफाको दक्षिणमा लगभग ३३ किलोमिटर टाढा रहेको छ ।

यस आक्रमणको जिम्मेवारी हिजबुल्लाहले लिएको छ । उनीहरूले यस क्षेत्रमा रहेको इजरायली रक्षा बलको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरेको बताएका छन् ।

हिजबुल्लाहको सैन्य मिडिया कार्यालयले इजरायलले बिहीवार दक्षिण लेबनान र बेरुतमा गरेका आक्रमणहरूको प्रतिशोधस्वरूप यो आक्रमण गरिएको दाबी गरेको छ ।
उत्तर इजरायलको उक्त शिविरलाई ड्रोनको झुन्ड प्रयोग गरी आक्रमण गरिएको हिजबुल्लाहले बताएको छ ।

इजरायली सुरक्षा सञ्चार निकायहरूले सुरुमा मिडियालाई आक्रमणको ठ्याक्कै स्थान वा निशाना के हो भन्ने रिपोर्ट गर्न रोक लगाएको थियो । पछि IDF ले बिन्यामिनाको सैन्य अड्डामा आक्रमण भएको पुष्टि गरेको थियो ।

घटनापछि टेलिभिजन बुलेटिन, सामाजिक सञ्जाल पोस्ट र अनलाइन रिपोर्टहरूले उत्तरी इजरायलभरका अस्पतालहरूमा एम्बुलेन्स र हेलिकप्टरमार्फत घाइतेहरूलाई पुर्याइँदै गरेको दृश्य देखाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com