किन दियो अमेरिकाले सैन्य सहायता कटौती गर्ने इजरायललाई लिखित चेतावनी ? कारण यस्तो छ


प्रकाशित मिति : आश्विन २९, २०८१ मंगलबार

गाजामा मानवतावादी सहायता पहुँचलाई ३० दिनभित्र सुधार गर्न अमेरिकाले इजरायललाई चेतावनी दिएको छ । अन्यथा केही सैन्य सहायता कटौती हुने अमेरिकाले इजरायललाई सचेत गराएको छ ।

अमेरिकाले आफ्नो सहयोगीलाई दिएको हालसम्मको सबैभन्दा कडा लिखित चेतावनीको रुपमा यसलाई लिइएको छ । उत्तरी गाजामा इजरायली आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको खबरपछि अमेरिकाले इजरायललाई चेतावनी दिएको हो ।

पत्रमा अमेरिकाले गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै, इजरायलले गत महिनामा उत्तरी र दक्षिणी गाजाबीच झण्डै ९० प्रतिसत मानवीय सहायता गतिविधिलाई अवरोध गरेको दाबी पनि लिखित पत्रमा गरिएको छ ।

इजरायली अधिकारीका अनुसार इजरायलले पत्रको समीक्षा गरिरहेको छ । र भनेका छन यसलाई गम्भीरतापूर्वक लिइनेछ । इजरायलले यस विषयमा अमेरिकी समकक्षीसँग छलफल गर्ने योजना बनाएको बताइएको छ ।

सोमबार, इजरायलको क्रसिंग व्यवस्थापन गर्ने निकाय कोगाटले विश्व खाद्य कार्यक्रमका ३० वटा ट्रकहरू इरेज क्रसिंगमार्फत उत्तरी गाजामा प्रवेश गरेको जानकारी दिएको छ ।

यसअघि दुई हप्तासम्म संयुक्त राष्ट्रसंघले उत्तरी गाजामा कुनै पनि खाद्य सहायता पुग्न नसकेको बताएको थियो । जसका कारण त्यहाँ रहेका ४ लाख प्यालेस्टिनीहरूलाई जीविकोपार्जनका लागि आवश्यक सामग्रीको अभाव भएको थियो ।

अमेरिका इजरायलको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । इजरायली सेनाले गाजामा हमासविरुद्धको युद्धमा अमेरिकाबाट प्राप्त विमान, बम, मिसाइल, र गोलीगठ्ठाको भर गरेको छ ।

७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमा हमासले गरेको अभूतपूर्व आक्रमणको जवाफमा इजरायलले हमासलाई नष्ट गर्न सैन्य अभियान सुरु गरेको थियो ।

उक्त आक्रमणमा झण्डै १ हजार २०० मानिसहरूको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाइएको थियो । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस यता भएको इजरायली हमलामा गाजामा ४२ हजार ३४० भन्दा बढी मानिसहरू मारिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com