असोजमा साढे ५३ हजारबढी नेपाली विदेश उडे, खाडी मुलुक नै रोजाइँमा


प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार

गत असोज महिनामा वैदेशिक रोजगारीका लागि ५३ हजारबढी नेपाली विदेश गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा श्रम स्वीकृति लिएर ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका हुन् । उनीहरु मध्ये पुरुष ४७ हजार ४४३ र महिला ६ हजार ८२ जना छन् ।

रोजगारीको लागि नेपालीहरुको रोजाइँ खाडी मुलुक नै बन्ने गरेको छ । विभागका अनुसार असोज महिनामा सबै भन्दा धेरै यूएइमा नेपालीहरु रोजगारीको लागि गएका छन् । असोज महिनामा १७ हजार ७ सय २४ जना नेपाली यूएइमा रोजगारीका गएका हुन् ।

यस्तै, साउदी अरेबियामा १० हजार ४६८ जना, कतारमा ९ हजार ७ सय ९८ जना, कुवेतमा तीन हजार ८ सय ७ जना र मलेसियामा एक हजार ३ सय १४ जना नेपाली रोजगारीका लागि गएको विभागले जनाएको छ ।

यस बाहेक नेपालीहरुले रोजगारीको लागि यूरोपियन मुलुकलाई पनि गन्तव्य बनाउन थालेका छन् । विभागका अनुसार असोज महिनामा रोमानियामा दुई हजार २०४, क्रोएशियामा ७८३, साइप्रसमा ४४५, माल्टामा २२७, पोर्चुगलमा १८७ जना नेपालीहरु विदेश गएका हुन् ।

विभागका अनुसार नेपालीहरु असोज महिनामा ९८ वटा मुलुकमा रोजगारीको लागि पुगेका हुन् । गत भाद्र महिनामा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । जसमा पुरुष ५० हजार ७७० र महिला ६ हजार ७२३ थिए ।

त्यस्तै, गत साउन महिनामा ५९ हजार ५७५ नेपालीहरु विदेश गए । जसमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ थिए ।

नेपालीहरुको सांस्कृतिक पर्व विजयादशमीको कारण पनि असोज महिनामा अघिल्लो महिनाको तुलनामा वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com