बागलुङको छुर्पीले अमेरिकामा बजार बढाउदै


प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार

पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।

वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०।८१ मा मात्रै ३८ लाख ५४ हजार ४ सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो ।

दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ ।

दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ गौतमले भन्नुभयो । दुग्ध उत्पादक सहकारी सङ्घमा १ हजार ५ सय किसान आबद्ध छन् ।

सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य ७ प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ ।

सहकारीले गत आवमा ७ करोड ८३ लाखको दूध, १ करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो १ हजार २ सयमा बिक्री गर्दै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com