मुस्ताङका किसानले स्याउ बेचेर ९२ करोड कमाए


प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ ।

स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब ७ हजार ३ सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भएको जानकारी दिनुभयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ तर पूरै तथ्याङ्क अझै आइसकेको छैन उहाँले भन्नुभयो ।

यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् । विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा ७ सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङमा १ हजार ४ सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । ५ सय ८५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटमा मात्रै स्याउ फलेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

यहाँ ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com