चीनलाई निराश बनाउदै उत्तर कोरियाले रुसमा किन सैनिक पठायो ? अमेरिका भन्छ : सम्वन्धमा दरार आउन सक्छ


प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार

उत्तर कोरियाले युक्रेनमा लड्न हजारौं सैनिक रूस पठाएको घटनापछि चीन र उत्तर कोरियाबीचको सम्बन्धमा चुनौती थपिनसक्ने संभावना बढेर गएको छ ।

उत्तर कोरियाले उत्तर एशियामा आफ्नो परमाणु हतियार कार्यक्रम र दक्षिण कोरियालाई नष्ट गर्ने धम्कीका कारण ल्याएको अस्थिरताबाट पहिल्यै नै चीन निराश छ ।

अहिले उत्तर कोरियाले युरोपमा युद्धलाई अझ बढी उत्तेजित बनाएको छ । जसले अमेरिका र उसका सहयोगीहरूलाई चीन र रूसको नेतृत्वमा रहेको पश्चिम विरोधी शक्तिहरूसँगको गहिरिँदो विश्वव्यापी टकरावमा धकेल्न सक्ने संभावना पनि बढेको देखिन्छ ।

चीनले आफूलाई शान्तिको पक्षधरको रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएको छ । चीनले अमेरिकालाई नयाँ शीत युद्ध गर्न खोजेको आरोप लगाइरहेको छ ।

उत्तर कोरियाका सैनिकहरू आफ्नो निकट साझेदार रूसको पक्षमा पश्चिम समर्थित शक्तिहरूसँग लड्न जाँदा चीनको यो अपेक्षा कमजोर हुने देखिन्छ ।

उत्तर कोरियाले सैनिकहरू पठाउने बदलामा रूसबाट प्राप्त गर्न सक्ने सैन्य प्रविधिको आदान प्रदानले चीनको चिन्ता बढाउन सक्छ । यसले उत्तर कोरियालाई दक्षिण कोरिया वा जापानप्रति अझ आक्रामक हुन उत्प्रेरित गर्न सक्छ ।

यसले चीनले उत्तर कोरियालाई आफनो नियन्त्रणमा राख्ने क्षमतामा कमी ल्याउन सक्ने आकलन गर्न सकिन्छ । यद्यपि उत्तर कोरिया व्यापार र सहायता लागि चीनमै निर्भर छ ।

उत्तर कोरियाको उत्तेजक व्यवहारले गत वर्ष क्याम्प डेविडमा अमेरिकाको नेतृत्वमा भएको त्रिपक्षीय सुरक्षा गठबन्धनमा पनि योगदान पुर्याएको छ ।

जसमा अमेरिका, जापान र दक्षिण कोरिया समावेश छन् । यस सम्झौताले चीनलाई अमेरिकाद्वारा घेरिएको र नियन्त्रणमा लिइएको महसुस गराएको छ ।

पश्चिमले रूसलाई अलग्याउने प्रयास गरिरहेको बेला चीनले भने २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि मस्कोसँग व्यापार र कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाएको छ ।

बुधवार रुसमा उदीयमान बजार देशहरूको शिखर सम्मेलनमा, चीनका राष्ट्रपति सी जिनपिङले देशहरूलाई आगोमा तेल थप्न नदिन आग्रह गरेका थिए ।

चीनले रूसलाई दिएको समर्थन फिर्ता लिएर यो युद्ध अन्त्य गर्न मद्दत गर्न सक्छ भन्ने अपेक्षा अमेरिकाको रहेको छ ।

चीनले रूसलाई माइक्रोचिप्स, रसायनहरू वा ड्रोनहरू उपलब्ध गराएको र ठूलो मात्रामा रूसी तेल किनेर रूसलाई समर्थन गरिरहेको आरोप अमेरिकाले चीनमाथी लगाउदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com