अमेरिकामा राष्ट्रपति चुनाव : ह्यारिसका लागि फिलाडेल्फिया सकस भएकै हो त ?


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

उपराष्ट्रपति कमला ह्यारिसले आफनो चुनावी फिलाडेल्फियामा केन्द्रीत गर्नुभएको छ । निर्वाचन दिनभन्दा नौ दिन अघि पेन्सिल्भेनियाको यो ठुलो सहरलाई प्राथमिकता दिनुले उपराष्ट्रपतिका लागि यसको महत्वलाई दर्शाएको छ ।

ह्यारिसको चुनावी अभियानको मुख्य चुनौती भनेकै फिलाडेल्फियामा अश्वेत र ल्याटिनो मतदाताहरूको ठूलो उपस्थितिलाई सुनिश्चित गर्नु हो । यदि उहाँले यो समर्थन जुटाउन सक्नु भएन भने ह्वाइट हाउसको यात्रा कठिन बनाउनेछ ।

फिलाडेल्फियाको लगभग ४० प्रतिशत जनसंख्या अश्वेत र १५ प्रतिशत ल्याटिनो समुदायका छन् । राष्ट्रपति जो बाइडेनले २०२० मा त्यहाँको ८१ प्रतिशत मत जित्नु भएको थियो ।

जसले पेन्सिल्भेनियाको कुल मतको १० प्रतिशत भन्दा बढी योगदान गरेको थियो । तर हालका सर्वेक्षणहरूले डेमोक्र्याटिक गठबन्धन कमजोर भइरहेको संकेत गरेका छन् । जसमा ट्रम्पले ब्ल्याक र ल्याटिनो पुरुषहरूमाझ समर्थन बढाइरहेको देखिन्छ ।

जसले पेन्सिल्भेनिया र देशभरका डेमोक्र्याटहरूलाई ह्वाइट हाउस गुम्ने डर बढाएको छ । चुनौतीलाई मनन गर्दै ह्यारिसले फिलाडेल्फियामा अश्वेत र ल्याटिनो मतदाताहरूको समर्थन जुटाउन पुरा ध्यान केन्द्रित गर्नुभएको हो ।

ठूला सभाहरू गर्न छोडेर फिलाडेल्फियाको केही प्रमुख ठाउँमा प्रत्यक्ष भेटघाट कार्यक्रम राख्नुभयो । अश्वेत समुदायको चर्चमा भाषण दिने देखि बार्बरशप र पोर्टो रिकन रेस्टुरेन्टमा पुगेर ह्यारिसले ट्रम्पको शासनले उनीहरूलाई हानि पुर्याउने तर्क दिनुभयो ।

फिलाडेल्फिया यस पटक ह्यारिसको विजयको लागि अझै धेरै महत्वपूर्ण हुने पूर्व सांसद चार्ली डेण्टले बताएका छन् । ह्यारिसले फिलाडेल्फियाको वरपरका धनाढ्य उपनगरीय क्षेत्रहरूमा बाइडेनभन्दा राम्रो गर्न सक्ने संभावना छ ।

तर राज्यका अन्य भागहरूमा भने उहाँले बाइडेनले राखेको स्तरलाई नछुने आशंका डेमोक्र्याटहरूको चिन्ताको बिषय हो । फिलाडेल्फियामा बढ्दो मूल्यवृद्धि र महँगीले ह्यारिसको प्रयासमा अवरोध पुर्याएको छ ।

विशेष गरी युवा अश्वेत र ल्याटिनो पुरुषहरूले आर्थिक चिन्ताका कारण ट्रम्पलाई समर्थन गर्न सक्ने सर्वेक्षणहरूले देखाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com