नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सुरु
प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ ।
बिहान ११ बजेर १ मिनेट सम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
बिहान ११ बजेर १ मिनेटपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान भने बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
यसबर्षको भाइटीका कात्तिक १८ गते ११ बजेर ३७ मिनेटमा शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।