ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि युद्ध अन्त्य हुने जेलेन्स्कीको भनाई
प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेपछि रसियासँगको युद्ध छिटो अन्त्य हुने बताउनु भएको छ ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको जितपछि भएको फोन कुराकानीमा आफूले ट्रम्पसँग रचनात्मक छलफल गरेको समेत बताउनु भयो । उहाँले ट्रम्पले रसियासँग सम्भावित वार्ताबारे कुनै माग राखेको भने बताउनु भएको छैन । उहाँले अमेरिकाको तर्फबाट युक्रेनको स्थितिको विपरीत कुनै कुरा नसुनेको बताउनु भयो ।
ट्रम्पले लगातार रूपमा युद्धको अन्त्य र अमेरिकी स्रोतसाधनको खपत रोक्ने आफ्नो प्राथमिकता रहेको बताउदै आउनु भएको छ । अमेरिकाले युक्रेनलाई सैन्य सहायता दिइरहेको छ ।
ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिले युद्ध चाँडो अन्त्य हुनेमा विश्वस्त रहेको जेलेन्स्कीले बताउनु भयो । युद्धभूमिको अवस्था कठिन रहेको र रसियाली सेनाले प्रगति गरिरहेको उहाले बताउनु भयो ।
अमेरिकी कानुनले आफूलाई जनवरीमा ट्रम्पको सपथ ग्रहणपछि मात्र भेटघाट गर्न अनुमति प्राप्त हुने जेलेन्स्कीले बताउनु भयो । ट्रम्प र जेलेन्स्कीको सम्बन्ध लामो समयदेखि असहज रहँदै आएको छ ।
वर्षौंको भिन्नताका बाबजुद ट्रम्पले आफू र जेलेन्स्कीको सम्बन्ध धेरै राम्रो रहेको दाबी गर्दै आउनु भएको छ । सेप्टेम्बरमा न्यूयोर्कमा भएको भेटघाटमा ट्रम्पले आफूले धेरै कुरा सिकेको र युद्धलाई छिटो समाधान गर्ने बताउनु भएको थियो ।
युद्ध कसरी अन्त्य गर्ने भन्ने ट्रम्पको योजना भने अझै स्पष्ट भएको छैन । उहाँलाई विपक्षीहरूले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकिएको आरोप लगाउँदै आएका छन ।
यस वर्षको सुरुमा अमेरिकी प्रतिनिधिसभाले युक्रेनलाई रसियाको आक्रमणविरुद्ध लड्न सहयोग पुर्याउन ६१ अर्ब अमेरिकी डलर को सैन्य सहायता प्याकेज अनुमोदन गरेको थियो। अमेरिकी सहयोगले युक्रेनलाई सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता बनाएको छ ।
फेब्रुअरी २०२२ देखि २०२४ को जुनको अन्त्यसम्म अमेरिकाले ५५ अर्ब डलर बराबरको हतियार र उपकरण प्रदान गरेको बताइएको छ ।