जलवायु परिवर्तन विरुद्धका प्रयासका आलोचक राइट अमेरिकाको उर्जा मन्त्री बन्ने


प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ऊर्जा मन्त्रीको रूपमा क्रिस राइटलाई चयन गर्नुभएको छ ।

राइट फोसिल इन्धन व्यवसायका कार्यकारी हुनुहुन्छ । डेनभरस्थित लिबर्टी एनर्जीका सीईओ राइट तेल तथा ग्यास विकास, विशेष गरी हाइड्रोलिक फ्र्याकिंगका पक्षमा वकालत गर्दै आउनु भएका व्यक्ति हुनुहुन्छ । यो ट्रम्पको वैश्विक ऊर्जा प्रभुत्व प्राप्त गर्ने प्रयासको मुख्य हिस्सा हो भन्ने देखिएको छ ।

राइटले जलवायु परिवर्तन विरुद्धका प्रयासहरूको कडा आलोचना गर्दै आउनु भएको छ । उहाँले विश्वभरका गरीब समुदायलाई गरिबीबाट उठाउन थप फोसिल इन्धन उत्पादन आवश्यक पर्ने तर्क गर्दै आउनु भएको छ ।

राइटको चयनलाई ऊर्जा क्षेत्रमा प्रभावशाली संरक्षकहरूको समर्थन प्राप्त भएको छ । अमेरिकन पेट्रोलियम इन्स्टिच्युटका अध्यक्ष माइक सोमर्सले राइटको ऊर्जा क्षेत्रमा भएको अनुभवले ऊर्जा विभागको नेतृत्वका लागि महत्त्वपूर्ण दृष्टिकोण ल्याउने बताउनु भयो ।

तर, प्राकृतिक स्रोत रक्षा परिषद्की वरिष्ठ उपाध्यक्ष ज्याकी वोंगले भने राइटलाई फोसिल इन्धनका समर्थक भन्दै यो नियुक्तिलाई विनाशकारी गल्ती भन्नुभएको छ ।

ऊर्जा विभागले अमेरिका भित्रको ऊर्जा, वातावरणीय, र आणविक सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिन्छ । यो विभागले अनुसन्धान, सफा ऊर्जा समाधानहरूको प्रवर्द्धन र आणविक हतियार व्यवस्थापनको समेत जिम्मा लिन्छ ।

रिपब्लिकन सिनेटर जोन बारासोले साहसी निर्णय भन्दै राइटको ऊर्जा क्षेत्रका अनुभवले अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा मद्दत गर्ने बताउनु भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com