किन मारिदै छन मानवीय सहायताकर्मीहरु ?
प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार
सन् २०२४ मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले यो घोषणा गरेका हुन ।
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय सहायताकर्मीहरू अकल्पनीय दरमा मारिएका बताउनु् भयो ।
सन् २०२३ मा ३३ देशमा २८० जना मानवीय सहायताकर्मीको मृत्यु भएको थियो । तर सन् २०२४ सकिन करिब एक महिना बाँकी रहँदा २८१ मानवीय सहायताकर्मीको मृत्यु भइसकेको छ ।
फ्लेचरले यो हिंसा सहायता अभियानका लागि अकल्पनीय र विनाशकारी हो भन्नुभयो ।
गाजामा इजरायलको विनाशकारी युद्धका कारण सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएका तीन जना सहायताकर्मीको मृत्यु भएको उहाँको कार्यालयले जनाएको छ ।
यसैबीच, ओसीएचएका प्रवक्ता जेन्स लार्र्कले जेनेभामा पत्रकारसँग कुरा गर्दै युएनआरडब्लुएका २४३ जना कर्मचारीको मृत्यु भएको बताउनुभयो ।
गाजाबाहेक अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र युक्रेनलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, चोटपटक, उत्पीडन र स्वेच्छाचारी रूपले हिरासतमा राखिएको एजेन्सीले जनाएको छ ।
फ्लेचरले भन्नुभयो, “सन् २०२३ मा १४ वटा देशका सशस्त्र द्वन्द्वमा ३३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो ।
यो सन् २०२२ को तुलनामा ७२ प्रतिशतले बढी हो । ओसीएचएका प्रवक्ता लार्र्कले मानवीय सहयोगका लागि खटिने व्यक्तिको हत्याको उच्च सङ्ख्या हुनुले आफुलाई बिचलित बनाएको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत मे महिनामा सहायताकर्मीहरूविरुद्ध बढ्दो हिंसा र धम्कीको प्रतिक्रियास्वरूप प्रस्ताव पारित गरेको थियो ।