ट्रम्प आउनु अघि नै न्युयोर्कमा कागजपत्रविहीनले आइससमक्ष व्यक्तिगत चेकइन गर्न नपर्ने बनाइदै


प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

ट्रम्पले कार्यभार सुरु गर्नु अघि न्युयोर्क सिटीका कागजात नभएका आप्रवासीहरूले स्थानीय अध्यागमन र भन्सार प्रवर्तन आइस कार्यालयमा व्यक्तिगत चेक इन गर्नु नपर्ने प्रावधान ल्याउन लागिएको जनाइएको छ । हाल अदालतको सुनुवाइको पर्खाइमा रहेका आप्रवासीहरूले नियमित रूपमा उनीहरूको स्थानीय आइस कार्यालयमा व्यक्तिगत रूपमा रिपोर्ट गर्नुपर्ने भएतापनि अब उक्त प्रावधान खुकुलो बनाउन लागिएको हो ।

हालको प्रणालीको डाटाबेसले आइस अधिकारीहरूलाई आप्रवासीहरूको लागि गिरफ्तारी वारेन्टहरूका अलर्ट दिने भएतापनि कार्यकाल सकिनु अगाडि बाइडेन प्रशासनले खुकुलो बनाउन खोजिरहेको छ । बाइडेन प्रशासनले नयाँ आइस एप पनि सुरु गर्ने योजना बनाएको छ जहाँ प्रवासीहरूले भर्चुअल रूपमा चेक इन गर्न सक्नेछन् ।

तर नयाँ आइस एप अविश्वसनीय रहेको र यसले आप्रवासीहरूलाई भाग्न सजिलो बनाउने भन्दै आलोचना समेत भएको छ । अध्यागमन अधिकारीहरूले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ अघि न्युयोर्क शहरमा १ लाख आप्रवासीहरूलाई नयाँ प्रणालीमा इन्रोल गर्ने जनाइएको छ ।

बाइडेन प्रशासनले आप्रवासीहरूलाई उनीहरूको अध्यागमन सुनुवाइको पर्खाइमा इलेक्ट्रोनिक ट्र्याकिंगको आदेशलाई चुनौती दिन अनुमति दिने पहल कार्यान्वयन गर्न खोजिरहेको छ । यद्यपी ट्रम्पले कार्यालयमा फर्किएपछि सामूहिक देशनिकाला गर्ने योजना रहेको बताएका छन्।

ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई व्यापक रूपमा देश निकाला गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना समेत परिचालन गर्ने योजना पुष्टि गरिसकेका छन् । ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै अमेरिकी इतिहासको सबैभन्दा ठूलो देश निकाला कार्यक्रम सुरु गर्ने वाचा गरेका छन्। राष्ट्रपतीय चुनावको अन्त्यतिर म्याडिसन स्क्वायर गार्डेनमा भएको र्‍यालीमा उनले हरेक सिटी र गाउँलाई अपराधीहरूले कब्जा गरेको ठाउँबाट मुक्त गराउने तथा हिंस्रक अपराधीहरूलाई जेल हालेर सकेसम्म चाँडो देश निकाला गर्ने बताएका थिए ।

पहिले नै उनले आप्रवासन नीतिमा कठोर दृष्टिकोण राख्ने व्यक्तिहरूलाई प्रमुख क्याबिनेट पदहरूमा चयन गरिसकेका छन्। साउथ डाकोटाका गभर्नर क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी सेक्रेटरी बनाउने घोषणा गरिएको छ, जुन सिनेटले अनुमोदन गर्नुपर्नेछ। पूर्व अमेरिकी आप्रवासन तथा सीमा संरक्षण निर्देशक टम होम्यानलाई सिमाना प्रमुख बनाइने भएको छ ।

होम्यानले यसअघि आफ्नो व्यापक देश निकाला कार्यक्रमको योजना व्यक्त गरेका थिए, जसले अपराधी र राष्ट्रिय सुरक्षामा खतराका रूपमा चिनिएका व्यक्तिहरूलाई पहिले देशनिकाला गर्नेमा केन्द्रित गर्नेछ। उनले परिवारसहित देश निकाला गर्ने कुरालाई पनि नकारेका छैनन्। यो साता उनले योजनाको अन्तिम तयारी गरिरहेको बताएका थिए ।

चुनावी अभियानका क्रममा ट्रम्पले नेशनल गार्डलाई पनि देश निकाला कार्यमा प्रयोग गर्ने बताएका थिए। यस कदमले अमेरिकामा सैन्य भूमिकामा ठूलो परिवर्तन ल्याउन सक्ने विज्ञहरूले बताएका थिए। ट्रम्पले विदेशस्थित सैनिकहरूलाई अमेरिका मेक्सिको सीमामा तैनाथ गर्ने प्रस्तावसमेत गरेका थिए।

अमेरिकामा अनुमानित ११ मिलियन कागजात नभएका आप्रवासीहरू छन्। उनीहरूको देश निकाला गर्नका लागि वार्षिक अरबौं डलर खर्च हुनसक्ने अमेरिकी आप्रवासन काउन्सिलको अनुमान छ। साथै व्यापक रूपमा देश निकाला गर्दा कर राजस्वमा हानि र श्रमिकहरूको अभावले अर्थतन्त्रमा पनि असर पर्नसक्छ। ट्रम्पको आप्रवासन र व्यापक देश निकाला योजनाले अमेरिकी कृषि उद्योगमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com