इजरायल र लेबनानबिच भएको युद्धबिराम भंग हुने खतरा बढ्यो


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

युद्ध बिराम चलिरहेको बेला इजरायलले लेबनानमा आक्रमण गरेको छ । इजरायली सेनाको पोस्टमाथि हिज्बुल्लाहले गरेको आक्रमणको प्रतिकार गरिएको भन्दै इजरायलले लेबनानमा आक्रमण गरेको हो ।

लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा दक्षिणी लेबनानका दुई गाउँमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

इजरायल रक्षा बल ले लेबनानमा हिज्बुल्लाहका प्रभाव क्षेत्र र संरचनामा हमला गरेको बताएको छ । तर, उसले युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता भने दोहोर्याएको छ ।

हिज्बुल्लाहले इजरायलले युद्धबिराम उल्लङ्घन गरेको जवाफमा रक्षात्मक चेतावनी हमला गरेको दाबी गरेको छ । उसले इजरायलले कब्जा गरेको क्षेत्रको इजरायली सेनाको पोस्टमा मोर्टार प्रहार गरेको बताएको छ ।

इजरायलले लेबनान सिमानाको विवादित क्षेत्र माउन्ट डोभ क्षेत्र मा हिज्बुल्लाहको आक्रमणबाट कुनै क्षति नभएको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिज्बुल्लाहको आक्रमणलाई युद्धविरामको गम्भीर उल्लङ्घन भन्नुभएको छ ।

पछिल्लो हिंसाले इजरायल र हिज्बुल्लाहबीचको १३ महिनाको द्वन्द्व अन्त्य गर्न हालै गरिएको युद्धविरामलाई कमजोर देखाएको छ ।

गत हप्ता, अमेरिका र फ्रान्सले यो सम्झौताले “लेबनानमा युद्ध रोक्ने र इजरायललाई हिज्बुल्लाह र लेबननबाट सञ्चालित अन्य आतङ्ककारी संगठनहरूको खतराबाट सुरक्षित बनाउने” बताएका थिए ।

हिज्बुल्लाहलाई दक्षिणी लेबनानबाट आफ्नो सशस्त्र उपस्थिति अन्त्य गर्न ६० दिन दिइएको छ । इजरायली सेना त्यही अवधिमा उक्त क्षेत्रबाट फिर्ता हुनुपर्ने युद्धबिराम सम्झौतामा उल्लेख गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com