अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी रुपमा विस्तार
प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार
युएससीआइृएसले अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी रुपमा विस्तार गरेको छ । युएससीआइृएसले वर्क परमिटको स्वत: विस्तार अवधि १८० दिनबाट ५४० दिनसम्म स्थायी रूपमा बढाउने अन्तिम नियम घोषणा गरेको हो ।
अप्रिल ८ मा फेडरल रजिष्ट्ररमा प्रकाशित अस्थायी अन्तिम नियमले म्याद सकिएका कैयन वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिन बनाएको थियो । उक्त नियमको म्याद सेप्टेम्बर २०, २०२७ मा सकिने तय भएकोमा अब त्यसैलाई स्थायी बनाइएको हो ।
यो नियमका लागि जुन ७ सम्म कमेन्ट अवधि तोकिएको थियो । अब यो नियमलाई स्थायी नियम बनाउनेगरी आगामी डिसेम्बरमा अन्तिम नियम प्रकाशित गर्ने युएससीआईएसको तयारी रहेको छ । यस्तै नियम सन् २०२२ को मे ४ मा पनि ल्याइएको थियो । उक्त नियम पनि अस्थायी अन्तिम नियम भएकाले अक्टोबर २०२५ सम्मकोमात्र म्याद थियो ।
योग्य गैर नागरिकहरूका लागि वर्क परमिटमा पहुँचलाई सुव्यवस्थित र आधुनिकीकरण यो नियम ल्याएको युएससीआईएसले जनाएको छ । वर्क परमिटको प्रशोधन समयलाई उल्लेखनीय रूपमा घटाएको अवस्थामा ल्याइएको यो नियमले आवेदकहरुलाई थप राहत प्रदान गरेको छ । यो नियमले पहिले नै वर्क परमिट प्राप्त गैर नागरिकहरूलाई पेन्डिङ वर्क परमिट नवीकरणको प्रतिक्षा गरिरहँदा वर्क परमिट ल्याप्स हुनबाट जोगाउनुका साथै गरिरहेको काममा निरन्तरता सुनिश्चित गर्दछ ।
स्थायी अन्तिम नियम फेडरल रजिस्टरमा प्रकाशन भएको ३० दिनपछि २०२५ जनवरी १० मा लागू हुनेछ । यस परिवर्तनले समस्याको दीर्घकालीन समाधान प्रदान गरी योग्य व्यक्तिहरूलाई आफ्नो रोजगारी कायम राख्न र अर्थतन्त्रमा कुनै अवरोध बिना योगदान गर्न सुनिश्चित गर्नेछ।
यो नियम नल्याएको भए झण्डै ८ लाख एसाइलम स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु, टीपीएस स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु र ग्रिनकार्ड आवेदकहरु नविकरण आवेदन गरिएको वर्क परमिट नआउँदा र आफूसँग भएको म्याद सकिएको वर्क परमिटका कारण काम गुमाउने जोखिममा पर्ने सम्भावना थियो । जसमाबाट ६० देखि ८० हजार रोजगारदाताले कामदार गुमाउने सम्भावना थियो ।
सामान्यतया वर्क परमिटको अवधि स्वीकृत परोल अवधिसम्म कायम रहने भएतापनि यो नियमले परोलको अपधि भने थप गर्दैन । जसको अर्थ कोही व्यक्तिले ५४० भन्दा अगाडि नै अमेरिकामा काम गर्ने अधिकार गुमाएको खण्डमा स्वत थपिएको अवधि उसको हकमा पूरै दिन लागु हुँदैन ।