अमेरिकाले ग्लोबल आतंककारी घोषणा गरेका हक्कानीे आत्मघाती हमलामा मारिए


प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

अफगानिस्तानको तालिबानका शरणार्थी मन्त्री खलिल हक्कानी आत्मघाती हमलामा मारिएका छन ।

राजधानी काबुलको गृह मन्त्रालयभित्र आत्मघाती बम आक्रमणमा उनी मारिएका हुन । २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता पुनः हासिल गरेपछि यो सबैभन्दा उच्च व्यक्तिको हत्या भएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार, खलिल हक्कानी आफ्नो कार्यालयबाट बाहिर निस्कँदै गर्दा विस्फोटमा परी उनीसहित अन्य छ जनाको मृत्यु भएको छ ।

खलिल हक्कानी तालिबानको शक्तिशाली गुट हक्कानी नेटवर्कका उच्च सदस्य थिए । उनलाई अमेरिकाले ग्लोबल आतंककारी घोषणा गरेको थियो ।

यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट आईएस समूहले लिएको छ । तालिबानका प्रवक्ताले हक्कानीको मृत्यु आईएसले गराएको पुष्टि गरेको छ ।

खलिल हक्कानीका दाजु जलालुद्दीन हक्कानी १९८० को दशकमा अफगानिस्तानमा सोभियत सैनिकहरूसँग लडेका प्रसिद्ध छापामार नेता थिए ।

उनले हक्कानी नेटवर्क स्थापना गरेका थिए । जसले तालिबानको २० वर्ष लामो विद्रोहका क्रममा धेरै आक्रमणको योजना बनाएको थियो ।

मन्त्रीका भतिजा र जलालुद्दीनका छोरा सिराजुद्दीन हक्कानी तालिबान सरकारका वर्तमान गृह मन्त्री हुन् ।

२०२१ मा विदेशी सेना पूर्ण रूपमा फिर्ता भएपछि तालिबानले सम्पूर्ण नियन्त्रण कायम गरेसँगै अफगानिस्तानमा समग्र सुरक्षा स्थिति सुधार भएको छ ।

तर, हरेक वर्ष देशमा दर्जनौं बम आक्रमण र आत्मघाती आक्रमण भइरहेका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com