१ सय ८६ प्रजातिका चराको बासस्थान रहेको टिटिताल पर्यटकको प्रतीक्षामा


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो ।

समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ ।

टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये पाँच प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताउनुभयो ।

वार्षिक ४ लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन् उहाँले भन्नुभयो ।

लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताउनुभयो ।

हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् । धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ ।

तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो ।

टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो । बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताउनुभयो ।

“बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उहाँले भन्नुभयो, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा १ सय ८६ प्रजातिका चराको बासस्थान छ ।

यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन ।

ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् ।

मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुदाय बसाइँसराइ गरेर गएका गौचनले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com