न्यूयोर्कमा भएको थम्पसन हत्याको अभियोग प्रमाणित भए लुइगीलाई मृत्युदण्डको सजाय हुनसक्ने
प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार
अमेरिकाको न्यूयोर्कमा युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्या अभियोगमा पक्राउ परेका लुइगी म्याङ्गिओन विरुद्ध संघीय सरकारले चार अभियोग लगाएको छ । जसमा लगाइएको एउटा अभियोग प्रमाणित भएमा उनलाई मृत्युदण्डको सजाय हुनसक्नेछ ।
न्यूयोर्क अदालतमा बिहीबारको सुनुवाइका क्रममा न्यायाधीश क्याथरिन पार्करले अभियोगहरू पढेर सुनाइन् । तीमध्ये हत्या गर्न प्रयोग गरिएको हतियार अभियोगले उनलाई मृत्युदण्डको सम्भावनामा पुर्याउन सक्छ ।
लुइगीलाई यस महिनाको सुरूमा थम्पसनको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो ।
उनलाई पेनसिल्भेनियाबाट न्यूयोर्कको म्यानहट्टन ल्याइएको छ । हेलिकप्टरमार्फत ल्याइएका उनी सुन्तलाको रंगको कैदी पोशाकमा हत्कडी लगाएर ओर्लिएका थिए ।
उनलाई सुरक्षाकर्मी र अधिकारीहरूले घेरेका देखिन्थ्यो । २६ वर्षीय म्याङ्गिओन अहिले थुनामै रहनेछन् । किनभने उनका वकिलहरूले धरौटीको निवेदन हाल्ने योजना तत्कालका लागि नबनाएको देखिएको छ ।
१५ मिनेटको सुनुवाइका क्रममा न्यायाधीशले उनलाई चार संघीय अभियोग पढेर सुनाएका थिए ।
म्याङ्गिओनलाई दिइएको सुरक्षा स्तर न्यूयोर्क भ्रमण गर्ने कूटनीतिज्ञ र विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने सुरक्षाको बराबरी रहेको न्यूयोर्क प्रहरी विभागका पूर्व सदस्य सार्जेन्ट फेलिप रोड्रिगेजले बताए ।
लुइगी म्याङ्गिओनलाई ९ डिसेम्बरमा पेनसिल्भेनियाको अल्टुनास्थित म्याकडोनाल्ड्सबाट गिरफ्तार गरिएको थियो । उनलाई नकली परिचयपत्र र ट्रेस गर्न नसकिने भागबाट बनेको घोस्ट गन सहित प्रहरीले फेला पारेको थियो ।
लुइगी म्याङ्गिओन अहिले ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा थुनामा छन् ।
न्यूयोर्क जिल्ला वकिल अल्भिन ब्र्यागले बताएअनुसार, लुइगी २४ नोभेम्बरमा न्यूयोर्क सिटी पुगेका थिए । म्यानहट्टनको एउटा होस्टेलमा नकली आईडीको प्रयोग गरी बसेका थिए । त्यहाँ बसाइको १० दिनपछि उनले ब्रायन थम्पसनमाथि आक्रमण गरेका थिए ।