सद्भाव, प्रेम र एकताको सन्देश प्रवाह गर्दै न्युयोर्कमा नेपाली क्रिश्चियनले मनाए क्रिसमस
प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार
सामाजिक सद्भाव, प्रेम, र एकताको सन्देश प्रवाह गर्दै न्युयोर्क नेपाली चर्चले क्रिसमसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। भजन, प्रार्थना, गीत, नृत्य, र नाटकजस्ता विविध प्रस्तुति समेटिएको यस उत्सवले धार्मिक भावना र सामुदायिक सम्बन्धलाई प्रगाढ बनाएको आयोजकले विश्वास गरेका छन् ।
कार्यक्रमको सांस्कृतिक पक्षलाई झल्काउने मुख्य आकर्षण उर्मिला लाम्गादेको गीत थियो, जसले हलमा रौनकता थपेको थियो । त्यस्तै सारा पाण्डेको नृत्यले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । साहित्यिक वातावरण सिर्जना गर्दै पुनम तामाङले कविता वाचन गरेकी थिइन्।
कार्यक्रममा प्रस्तुत गरिएको ‘बोझ बिसाई विश्राम’ नामक सम्बादविहिन नाटकले गहन सन्देश प्रवाह गरेको थियो । संवाद नहुँदा पनि यसको प्रभावकारी प्रस्तुति दर्शकहरूको मन जित्न सफल रह्यो। यसैगरी सामुदायिक सञ्चार माध्यम खसोखासलाई आयोजकले सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका थिए ।
धार्मिक पक्षतर्फ एल्डर कमल थापा मगरले वचनको प्रार्थना गरेका थिए भने पास्टर डानियल बस्नेतले प्रेरणादायी प्रवचन दिएका थिए। एल्डर सकुना राईले धन्यवाद मन्तव्य दिँदै कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रमको समापन सामूहिक प्रेमभोजसँगै गरिएको थियो। सहभागीहरूले उत्सवको उल्लासपूर्ण माहोलमा मेलमिलाप र आत्मीयता साटासाट गरे। कार्यक्रम न्युयोर्कको क्वीन्स स्थीत लङ आइल्याण्ड सिटीमा आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाली क्रिश्चियनका साथै अन्य धर्मालम्बीहरुको पनि बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन डिकन रायन लाम्गादेले गरेका थिए। उनले क्रिममस अब चाड मात्र नभई संस्कृतिकै अभिन्न अंग बनेको बताए ।