“अमेरिकामा गुरुङ संस्कृति र सभ्यतालाई कायम राख्न ‘तमु ल्होसार’ मनाउँदैछौं”: मनिता गुरुङ


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

पोखरा घर भई सन २००४ सालदेखि अमेरिका, न्यूयोर्कलाई कार्यक्षेत्र बनाउनुभएकी मनिता गुरुङ तमु परिवार अमेरिकाको न्यूयोर्क इन्कको अध्यक्ष हुनुहुन्छ। उहाँ सन २०१९ देखि उक्त संस्था न्यूयोर्क इन्कको अध्यक्षको रूपमा क्रियाशील रहनुभएको छ। उहाँको नेतृत्वमा यो तेस्रो कार्यकाल हो। उहाँ आफ्नो परिवारसहित व्यवसाय गर्दै आउनुभएको छ। तमु ल्होसारको अवसरमा तमु परिवारका अध्यक्ष गुरुङसँग खसोखास सम्पादक दीपक परियारले गरेको कुराकानी ।

नयाँ वर्ष २०२५ को आगमनसँगै तमु परिवार अर्थात् गुरुङ समुदायले तमु ल्होसार मनाउन गइरहेका छन्। यसको महत्वबारे बताइदिनुहोस्।

गुरुङहरूको एउटा महत्वपूर्ण पर्व तमु ल्होसार हो। ल्होसार विशेषगरी तीन किसिमका हुन्छन्: तमु ल्होसार, सोनाम ल्होसार, र ग्याल्वो ल्होसार। तमु ल्होसार गुरुङहरूले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आफ्ना तिथि मितिअनुसार मनाउने गर्छन्। समग्रमा ल्होसारको अर्थ भने एउटै हुन्छ र यो नयाँ वर्गको सुरुवात अर्थात् नयाँ वर्षको सुरुको प्रारम्भ हो।

गुरुङ समुदायले तमु ल्होसारलाई कसरी मनाउँदै आएको छ? यस वर्षको तमु ल्होसारको तयारी कस्तो रहेको छ?

तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्बत् सुरु भएको सङ्केत गर्छ। प्राचीन तमु पायो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ। ल्होसारका दिनदेखि नयाँ वर्ष अर्थात् नयाँ ल्हो वर्गको थालनी हुने गरेको जनविश्वास छ। जसअनुसार विभिन्न १२ वटा जनावरको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ। तमु गुरुङ जातिले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा आफ्नो मौलिक पर्वको रूपमा मनाउँदै आएका छन्। १२ वटा वर्गमध्ये हरेक वर्ष वर्ष फेरिने भएकाले यसलाई ल्होसार भनिन्छ। तमु परिवार न्यूयोर्कले यस वर्ष तमु ल्होसार विभिन्न रमझमसाथ मनाउँदै आएको छ। यो वर्ष डिसेम्बर २७ का दिन न्यूयोर्कमा तमु ल्होसार मनाउने तयारी गरिरहेका छौँ।

तमु ल्होसारको विशेष अवसरमा गुरुङ समुदायले आफ्नो पहिरन, विशेष खानाका परिकारहरूका साथ अमेरिकामा बसेका नेपालीहरूको बीचमा पनि मनाउँदै आएको छ। खासमा त्यसको लागि के के तयारी हुँदैछ? खानाको विशेष परिकार के छ? पहिरनहरूमा के के लगाइन्छ?

खासगरी, तमु ल्होसार नेपाली तिथिमिति अनुसार पुस १५ मा मनाउने गरिन्छ। ल्होसारको अघिल्लो दिन साँझदेखि नै यो पर्व मनाउन सुरु गरिन्छ। गुरुङ समुदायमा हामीले पुसको १४ गते लट्ठे भात बनाएर राख्छौँ। किनकि त्यो रात एकदम लामो हुने जनविश्वास छ। पुसको १५ गतेदेखि रात छोटो हुने कारणले हामीले १४ गते पकाएर राखिएको लट्ठे भातलाई पुस १५ गते बिहानै उठेर खाने प्रचलन छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ।

ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीर्वाद आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरुङ जाति आफ्नै शैलीका भेषभूषा जस्तै महिलाले शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन्। अन्य जातले जस्तै गुरुङ जातिको पनि पर्वहरू मनाउने आफ्नै शैली छ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षको आरम्भ भएको दिनमा पनि लिइन्छ। यो गुरुङ समुदायको संस्कृति, पहिचान र प्रवर्धनका लागि यहाँका अन्य समुदायसँगको सहकार्य गर्नुभएको छ?

गुरुङ समुदायमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित कौडानाच नाचेर आफ्ना परिवार साथीभाइसँग रमाइलो गर्छन्। यो नेपाल डे परेड, एनआरएनएको कार्यक्रमहरूमा गुरुङ समुदायको बीचमा यी सांस्कृतिक चाडपर्वका महत्व बोकेको नाचहरू प्रदर्शन गर्ने गरिरहेका छौँ। नेपाली समुदायमा गुरुङ समुदायभित्र एक अर्कामा सामाजिक सद्भाव र भाईचाराको सम्बन्ध राम्रो छ। एकले अर्कालाई आदर सत्कार गर्दै नातेदार आफन्तीहरुलाई भेटघाट गर्ने खानपीनमा रमाइलो गर्ने प्रचलन रहेको छ।

तमु ल्होसार पर्वले अमेरिकामा रहेका गुरुङ समुदायको मात्रै नभएर अन्य नेपाली समुदायका मानिसहरूको जीवनमा केही प्रभाव पारेको होला? केही महसुस गर्नुभएको छ?

नेपाली जनजीवनमा हाम्रो पहिचान भनेकै नेपाली चाडपर्व र धर्मअनुकूलको संस्कृति हो। गुरुङ समुदाय भाषा, कला र संस्कृतिमा निकै धनी छन्। गुरुङहरूको पहिचानको अर्काे नाम भनेको तमु हो। धर्म र संस्कृतिको खानीका रूपमा परिचित गुरुङले तमु ल्होसार पर्वलाई नेपालमा भएको नेपाली समुदायको चाडपर्व र संस्कार संस्कृतिको महत्व अमेरिकाको नेपाली समुदायका बीचमा गुरुङको संस्कृति, सभ्यतालाई कायम राख्दै आएको छ। नेपाली समुदायभित्र पनि कतिले गुरुङ समुदायको संस्कृति नदेखेको हुनुहुन्छ।

यहाँ अमेरिकामा रहनुभएका नेपाली समुदायमा नाँच र संस्कृति झल्काउने कार्यक्रम गर्ने र यहीँ जन्मिएका स–साना नानीबाबुहरूलाई पनि गुरुङ भाषासिकाउने, गुरुङ भाषाको गीतमा नचाउने जस्ता कार्यहरू हामी गर्दै आइरहेका छौँ। पछिल्लो समय गुरुङ लगायत अन्य समुदाय आदिवासी जनजातिले पनि तमु ल्होसारको सिको गर्दै आफ्नो मौलिक चाडलाई प्रदर्शन गर्न थालेका छन्। तामाङको ल्होसार, किराँतको उँधौली उँभौली, मगरको भुमे पर्वमा मनाउँदै आउन थालेका छन्। त्यसैले हामीले गर्दै आएका तमु समुदायको चाडपर्व, खानपीन र नाचगानको महत्व प्रत्यक्ष प्रभाव अन्य समुदायमा पनि परेको छ।

 

अमेरिकामा ‘हामी नेपाली हौँ’ भन्ने खालको कुनै कार्यक्रम गर्नुभएको छ?

यथार्थमा भन्नुपर्दा, तमु समाज एउटा नितान्त गुरुङ समुदायको पर्व हो। त्यसो हुनाले, अमेरिकामा यस्ता धेरै संस्थाहरू छन्। न्यूयोर्कमा पनि त्यस्तै थुप्रै जातजाति र समुदायको बसोबास रहेको छ। अब यस्ता नेपाली चाडपर्व र यसको महत्व झल्किने खालका कार्यक्रमहरूमा सबै नेपाली समुदायको एकता हुन जरुरी छ। एक्लै पहल गरेर हुँदैन। यस अवस्थामा यस्ता समुदायका चाडपर्व र संस्कृतिका बारेमा नेतृत्व लिने धर्म संस्कार, संस्कृति र चाडपर्व जगेर्ना गर्ने प्रमुख दायित्व एनआरएनएको हुन आउँछ। हामीले एनआरएनए अलि कमजोर भएको महसुस गरिरहेका छौँ। त्यो काम यसरी गर्न सकिरहेको छैन जस्तो लाग्छ मलाई।

एनआरएनएले नेतृत्व गरोस् भन्ने चाहाना छ?

एनआरएनए भनेको सबै जात–जाति, धर्म, लिंग र समुदायको, नेपाल र नेपालीका लागि विशेष संस्था हो भन्ने मलाई लाग्छ। तर अहिले पछिल्लो समय एनआरएनएमा राजनीतिक हाबी भएको जस्तो महसुस हुन्छ। अमेरिकामा थुप्रै नेपाली भाषिक विविधता, जातीय विविधता, भौगोलिक र क्षेत्रीय विविधता भएका नेपाली आप्रवासीले जीवनयापन गरिरहेका छन्। यदि एनआरएनएले यस्ता नेपालीहरूको महत्व बोकेर नेपालीको पहिचान र सामाजिक सांस्कृतिक चाडवाड र परम्पराको महत्व र यसको उच्चता राख्न यसको पहल गरोस् भन्ने मेरो आशय रहेको छ।

तमु परिवार न्यूयोर्कमा मात्रै हो कि अन्य राज्यहरूमा पनि गठन गर्नुभएको छ?

समुदायहरूको विशेषगरी यो ल्होसार कार्यक्रम भएकोले यो अरू राज्यमा (जस्तो: भर्जिनिया, बाल्टिमोर) मा पनि गुरुङ समुदायहरूले आफ्ना कार्यक्रमहरू एक ठाउँ र अर्का ठाउमा लिएर जाने यसको महत्व बढाउने सम्बन्ध राम्रो बनाउने काम भएको छ। अमेरिकाभरी अन्य राज्यहरूमा यस्ता कार्यक्रमहरू हुने गरेका छन्। हामीले आसपासमा हाम्रो मिठो सम्बन्ध विस्तार गर्न एक ठाउँ र अर्का ठाउँलाई यही पर्व र परम्पराको माध्यमबाट जोड्न जरुरी छ।

डिसेम्बर २७ मा तमु ल्होसार पर्व मनाउनको लागि के के तयारी गर्नुभएको छ? के के कार्यक्रमहरू हुँदैछन्?

विशेष गरी, हाम्रै तमु ल्होसार र तमु समुदायको कला, संस्कार र संस्कृतिलाई झल्काउने तरिकाको धेरै जसो लाइभ घाटु, लाइभ सोरठी (ठूलो नाच)। यो चाहिँ हाम्रो नितान्त गुरुङहरूको संस्कृतिमा पर्दछ। विशेष गरेर घाटु नाच। घाटु नाच तमुहरूको विशेष नाचमा पनि गनिन्छ। हाम्रो यसपालि घाटु, सोरठी र धेरै जसो गुरुङ भाषामा नाचगानहरू लिएर हामी उपस्थित भएका छौँ।

बढ्दो आधुनिक प्रविधिका कारण पछिल्लो समय सामाजिक सञ्जालहरूमा पनि आफ्नै परिवेश साथै संस्कृति झल्कने प्रस्तुति देख्न पाइन्छ। न्यूयोर्कमा तमु ल्होसार मनाउँदा यस्ता सामाजिक सञ्जाल र यसका प्रभावमार्फत आफ्नो संस्कृति संसारभर फैलाउन कस्तो भूमिकादेख्नुहुन्छ?

अहिलेको सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायत) को जमाना रहेको छ। यसबाट नेपाली समुदाय र गुरुङहरूले अछुतो छैनन्। गाउँ समुदायमा यसको प्रभाव परिरहेको छ। हाम्रो पालामा यसको प्रयोग कम थियो, अहिले दुनियाभरी सूचना र इन्टरनेटको पहुँच छ। नेपाली समुदायमा यसको प्रभाव कसरी बढ्यो भन्ने कुरा अबको नयाँ पुस्तालाई यो धेरै कुरा थाहा नहुन सक्छ। यस्ता सामाजिक सञ्जालहरूले प्लेटफर्मले यति सहयोग गरिरहेको छ कि, अहिले न्यूयोर्कमा घाटु नाचिरहेको छ, लाइभमा, सोरठीमा नाचिरहेको छ, गुरुङ गीतमा बच्चालाई नचाइरहेको छ, भन्ने त देश विदेशमा रहेकोले सामाजिक सञ्जालबाट हेर्न पाउँछन्। हाम्रो आफ्नो संस्कार चाहिँ यो रहेछ भनेर बुझ्ने मौका पाउँछन्। त्यसैले यो प्लेटफर्मले निकै सहयोग गरेको जस्तो लाग्छ मलाई।

तमु ल्होसारसँगै तमुको संस्कृति, चालचलन, रहनसहन, पहिरन, परिकारहरूलाई संयुक्त राष्ट्रसंघ समक्ष लैजान केही पहल गर्नुभएको छ?

हामीले तमु परिवार स्थापना गरेदेखि नै सिटीमा हरेक वर्ष कर तिरेर बसेका छौँ। यो विषयमा सिटीसम्म पुगेर जुन कार्य गर्नुपर्ने हो, कति कुरा प्रक्रियामा छन्। कतिपय गरिसकेका छौँ। यो हामी नेतृत्वले गर्ने हो। यसबारेमा गम्भीर भएर सोचेका छौँ।

अन्त्यमा, तमु ल्होसारले दिन खोजेको सन्देश के हो? साथै, यो पर्वको अवसरमा तपाईंको कस्तो सन्देश दिन चाहनुहुन्छ?

सर्वप्रथम त, सम्पूर्णलाई तमु ल्होसार पर्वको यस विशेष दिनमा हार्दिक शुभकामना दिन चाहन्छु। यस वर्ष हामीले सर्प वर्गको स्वागत गरी ल्होसार मनाउँदै छौँ। यस वर्ष जन्मेका सबै नानीहरू सर्प वर्गको हुन्छन्। गुरुङ समुदायले मनाउने ल्होसारहरू मध्ये पहिलोमा तमु ल्होसार हुन्छ। पहिलो ल्होसार भएकोले सबैलाई अनुरोध गर्दछु, आउनुहोस् सँगै बसेर ल्होसार मनाऔं। गुरुङको संस्कृति झल्कने नृत्यहरू पनि हेर्न पाउनुहुनेछ। हाम्रो सांस्कृतिक पहिचान र चाडपर्वको गरिमालाई अझ बढाऔं। स्वदेश विदेश जहाँ हुनुहुन्छ, जो जहाँ छौं त्यहीबाट आफ्नो पर्वमा धर्म संस्कारका गर्व गरौं। मूल्य मान्यतालाई बचाऔं, आउनुहोस् सामाजिक एकता र मेलमिलाप कायम गरौं भन्ने चाहन्छु। सबै नेपाली र तमु परिवारलाई तमु ल्होसारको शुभकामना!

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com